Live Streaming

परामर्श समितिको बैठकमा तीनवटा प्रतिवेदन पेश, बिज्ञ समूहले सुझाव दिँदै

जेठ १२, काठमाडौ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको बैठकमा अहिले विभिन्न तीनवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । समिति गठनपछि आज बसेको पहिलो बैठकमा गृहमन्त्रालयले राहत र उद्धारलागि अहिलेसम्म भएगरेको कामको विवरणसहितको प्रतिवेदन  पेश गरेको छ भने राष्ट्रिय योजना आयोगका तर्फबाट पुननिर्माका लागि अबको आवश्यकता र त्यसको तयारीका बारेमा प्रतिवेदन पेश गरेको छ ।

यसैगरी मुख्य सचिव लिलामणी पौडेलले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न विद्यमान संरचना र त्यसमा प्रस्तावित सुधारको उपाय सहितको प्रस्ताव बैठकमा पेश गर्नुभएको छ । जारी बैठकमा तीनै प्रस्तावहरुबारे छलफल भइरहेको बैठक स्रोतले जानकारी दिएको छ । बैठकबाट बाहिरिएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आज विभिन्न विज्ञ समूह तथा गैरराजनीतिक प्रतिनिधिहरुले सुझाव दिइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनबारे अर्काे बैठकमा मात्रै राजनीतिक दलहरुले सुझाव दिनेछन् । 

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री सुशील कोइरालाले देशलाई वर्तमान महाविपत्तिबाट निकालेर नयाँ निर्माणको बाटोमा लैजान यो समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देशका सबै राजनीतिक दल र विज्ञहरुको अनुभव,एकता ,सहमति र सहकार्यलाई जुटाउन तथा सरकारलाई महत्वपूर्ण सुझाव दिन पनि परामर्श समिति सफल हुने विश्वास ब्यक्त गर्नुभयो । 

यो समितिमा संसदमा रहेका सबै नेता, मन्त्रीहरु,योजना आयोगको पदाधिकारी,मुख्य सचिव र सचिवहरु, नेपाल राष्ट्र बैकका गभर्नर र बैकिङ्ग क्षेत्रका प्रतिनिधिहरु,योजना आयोगका पूर्व उपाध्यक्षहरु,पूर्व मुख्य सचिवहरु सहभागी छन् ।

उद्योग वाणिज्य क्षेत्र एवं विभिन्न पेशागत संगठन सञ्जालका प्रतिनिधिहरु, विभिन्न क्षेत्रका विषय विज्ञहरु, अर्थशास्त्री–समाजशास्त्री, शिक्षा, स्वास्थ्य ,पूर्वाधार  विज्ञहरु, भूकम्प एवम् भूगर्भविद्, विपद् व्यवस्थापन विज्ञ, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, रोनाष्टका विषयगत विज्ञहरुलाई पनि समितिमा सामेल गराइएको छ ।