Live Streaming

राष्ट्रिय परामर्श समितिको बैठक सुरु

काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको बैठक बसिरहेको छ । भूकम्पपछिको पूनर्निमार्णमा सल्लाह तथा सुझाव दिनका लागि गत बिहिबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिको यो पहिलो बैठक हो ।

बालुवाटारमा जारी बैठकमा भूकम्प प्रभावित क्षेत्रका लागि तत्कालीन र दीर्घकालीन योजनाबारे छलफल केन्द्रित रहेको श्रोतले बताएको छ ।  विपद् व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ले प्रस्ताव गरेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद  र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने÷ नगर्ने विषयमा पनि छलफल हुनेछ ।  प्रधानमन्त्री अध्यक्ष रहेको परामर्श समितिमा पूर्वप्रधानमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, मन्त्रीहरु,  नेपाल सरकारका मुख्य सचिव तथा सम्बन्धित मन्त्रलायका सचिवहरु  र राष्ट्रिय योजना आयोगका बहालवाला पदाधिकारीहरु सदस्य रहने ब्यवस्था गरिएको छ ।

यसैगरी त्रिभुवन तथा काठमाडौं  विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका प्रमुखहरु, नेपाल इन्जिनियरिङ तथा मेडिकल एशोसियसनका प्रमुखहरु, उद्यमी व्यवसायीका विभिन्न संगठनका अध्यक्षहरु, जनजाती महासंघका अध्यक्षहरु तथा नेपाल स्थित राष्ट्रसंघका प्रतिनिधि सदस्य रहने बताइएको छ ।