Live Streaming

उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठक बस्दै

काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठक आज बस्दैछ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार, भूकम्पपछिको पूनर्निमार्णमा सल्लाह तथा सुझाव दिनका लागि समिति गठन भएको हो ।  समितिको बैठक विहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । पहिलो बैठक भएकाले आज भूकम्प प्रभावित क्षेत्रका लागि तत्कालीन र दीर्घकालीन योजनाबारे छलफल हुने श्रोतले बताएको छ ।

विपद् व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ले प्रस्ताव गरेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद  र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने÷ नगर्ने विषयमा पनि छलफल हुनेछ । प्रस्तावित परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गर्ने भनिएको छ भने प्राधिकरणको स्वरुप र कानुनबारे रणनीतिमा उल्लेख गरिएको छैन ।

परामर्श समितिमा पूर्वप्रधानमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव तथा सम्बन्धित मन्त्रलायका सचिवहरु  र राष्ट्रिय योजना आयोगका बहालवाला पदाधिकारीहरु सदस्य रहने ब्यवस्था गरिएको छ । यसैगरी त्रिभुवन तथा काठमाडौं  विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका प्रमुखहरु, नेपाल इन्जिनियरिङ तथा मेडिकल एशोसियसनका प्रमुखहरु, उद्यमी व्यवसायीका विभिन्न संगठनका अध्यक्षहरु, जनजाती महासंघका अध्यक्षहरु तथा नेपाल स्थित राष्ट्रसंघका प्रतिनिधि सदस्य रहने बताइएको छ ।