संसदीय बिशेष समितिले राहत संकलन-वितरणबारे अर्थमन्त्रीसँग सोधपुछ गर्दै
काठमाडौं, १२ जेठ ।
राष्ट्रिय बिपद् ब्यवस्थापन, अनुगमन तथा निर्देशन बिशेष समितिको बैठक आज पनि बस्दैछ । सभामुख सुवास नेम्बाङ्ग सभापति रहेको समितिको बैठक अपरान्ह १ बजेपछि सिंहदरवारमा बस्नेछ ।
प्रधानमन्त्री, गृहमन्त्री र कानून मन्त्री पदेन सदस्य रहेको समितिले आज राहत संकलन तथा बितरणबारे जानकारी लिन अर्थमन्त्री रामशरण महतलाई समेत बैठकमा बोालएको छ । पछिल्लो समय राहत वितरण प्रभावकारी हुन नसकेको, सरकारले निर्णय गरेअनुसार प्रभावितहरुले राहत पाउन नसकेको गुनासो बढेपछि समितिले अर्थमन्त्री महतसँगै जानकारी लिन खोजेको हो ।
अस्थायी आवास निर्माणका लागि भन्दै सरकारले १५ हजार रुपैयाँ पीडित परिवारलाई लिने निर्णय गरेपनि १० हजार रुपैयाँ मात्र पुगेको अनुगमननका क्रममा सांसदहरुले पाएपछि बिशेष समितिले सोबारे थप चासो देखाएको हो । स्थलगत अनुगमनपछि उपसमितिहरुले प्रतिवेदन बुझाउदै प्रभावित अधिकांश क्षेत्रमा राहत नपुगेको, बितरणका लागि लगेका अधिकांश खाध्यान्न गुणस्तरहीन भएको, राहत रकम अपुग भएको जानकारी समितिलाई गराएका थिए । सोही आधारमा बिशेष समितिले गत आईतवार राहत कार्य थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको थियो ।