म्याग्दीको पहिरो अझै रोकिएन
गोपाल छन्त्याल, म्याग्दी । गण्डम्याग्दीको भगवति र राम्चे गाविसको सीमाना वैंसरीमा पहाडबाट पहिरो झर्ने क्रम अझै रोकिएको छैन । शुक्रबार बिहान देखि खस्न थालेका पहिरोका कारण आईतबार एकबजेदेखि १७ घण्टा कालीगण्डकी नदी थुनिएको थियो ।
नदी थुनेर बसेको कृत्रिम तालको लम्बाई चार किलोमिटरबाट घटेर सात मिटरमा झरेको प्रहरी नायब उपरिक्षक हीरा गिरिले जानकारी दिनुभयो ।
पहिरो खसेर थुनिएको तालको आज प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरिक्षक गिरी र नेपाली सेनाका प्राविधिकहरुले स्थलगत अवलोकन गरेका छन् । पहाडको टुप्पोबाट खसेको माटो र ढुंगाको थुप्रोलाई पानीले विस्तारै बगाउन थालेका कारण तालको सतह पनि घट्दै गईरहेको छ ।
माथिबाट पहिरो खस्ने क्रम रोकिए थुनिएको स्थानमा सामान्य उपकरणले पनि नदीलाई पुरानै स्वरुपमा फर्काउन सक्ने अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।
यसैबीच, सरकारले पहिरोबाट घरबारबिहीन भएका २७ परिवारलाई सोमबार १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले भगवति र राम्चे गाविसका सचिब मार्फत राहत रकम उपलब्ध गराईएको छ ।
यस्तै पहिरो पछि बनेको तालका कारण बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा आउन सकेको छैन् । पहिरोले सडकलाई पूर्ण रुपमा पुरेको कारण सवारी साधन सञ्चालन हुन नसकेको हो ।