Live Streaming

हेलिकप्टर चढाइएका ५ जना घाइतेको अवस्था अझै अज्ञात

काठमाडौं, ११ जेठ ।
वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटी बजारबाट उपचारका लागि हेलिकप्टर चढाइएका ५ जना घाइतेको अवस्था अझै अज्ञात छ । उपचारका लागि हेलिकप्टर चढाएको २ हप्ता भइसक्दा पनि काठमाडौंका कुनै अस्पतालमा ती घाइते नभेटिएको आफन्तहरुले बताएका छन् ।

आफन्तहरुका अनुसार भूकम्प गएकै दिन दिउँसो करिब २ बजेतिर अमेरिकी हेलिकप्टरमा बिरामीलाई राजधानी ल्याइएको थियो । बेपत्ता भएकामा लादुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसका सावित्री खड्का सिवाकोटी छन् । उनीहरु पाँचै जनालाई राजधानीका विभिन्न अस्पताल, धुलिखेल, बनेपाका साथै दोलखाकै विभिन्न अस्पताल तथा विदेशी स्वास्थ्यकर्मीहरुको शिविरहरुमा समेत खोजी गरिए पनि नभेटिएपछि स्थानीय प्रशासन, सुरक्षा निकायका साथै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । आयोगका प्रवक्ता मोहना अन्सारीले निवेदन परेदेखि नै अनुसन्धान भइरहेको बताउनुभयो ।