Live Streaming

म्याग्दीको जनजीवन सामान्य

गोपाल छन्त्याल, बेनीबजार ।

म्याग्दीको बैँसेरीमा गएको सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदिले बनेको ताल खुलेपछि अहिले अवस्था सामान्य हुँदै गएको छ । शनिवार मध्यराती १ बजे म्याग्दीको राम्चे ९ काफलडाँडाको पहाड खसेर भगवती गाविस २ बैसरी र राम्चे ९ को फेदीमा थुनिएको कालीगण्डकी ताल हिजो करिब १८ घण्टापछि आफैं खुलेको थियो । सुरुमा ताल बनेको बाँध माथिबाट बग्न सुरु गरेको कालीगण्डकी एक घण्टासम्म तिब्र बेगमा सतह बढेर बगे पनि बिस्तारै पानीको बहाव आफैं नियन्त्रणमा आएपछि कुनै क्षति नभएको हो । उच्च बाढीको सम्भावना बढेपछि बस्ती नै छाडेका सदरमुकाम बेनी, गलेश्वर लगायत नदी आसपासका बस्तीका बासिन्दा पूर्ववत काममा फर्किएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार तत्कालका लागि कालीगण्डकीको नदीको त्रास हटेको छ । केसीले मानविय क्षति नभएपनि भौतिक क्षतिको लगत संकलन भईरहेको बताउदै अवरुद्ध जोमसोम बेनी सडक खुलाउन प्रयास भईरहेको जानकारी दिनुभयो ।

पहिरो र त्यसपछि बनेको तालका कारण बेनी जोमसोम सडकमा करिब डेढ किलोमिटर क्षति गरेको छ । पहिरोले घर पुरीएपछि बैसरी र राम्चे ९ का बासिन्दाहरु विस्थापित भएका छन ।