म्याग्दीमा पहिरो झरेको झर्यै, नरोकिएसम्म नदी खुलाउन नसकिने
जेठ १०, काठमाण्डौ । सरकारले पहिरोका कारण थुनिएको कालीगण्डकी नदी खुलाउन विज्ञ सहितको प्राविधिक टोली परिचालन गरेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले थुनिएको कालीगण्डकी फुटे दर्जन बढि बस्तीहरु डुब्ने खतरा रहेको भन्दै स्थानीयबासीलाइ सतर्क रहन सुचना जारी गर्न स्थानीय प्रशासनलाइ निर्देशन दिएको छ । बैठकपछि बनमन्त्री महेश आचार्यले थुनिएको कालीगण्डकी नदी खुलेपछि उत्पन्न हुन्ने परिस्थितिप्रति सजग रहन आवश्यक तयारी गरेको जानकारी दिनुभयो ।
सरकारले यसअघि नै नदि आसपासका बस्तीहरुमा क्षति नपुग्नेगरी नदी सुचारु गराउन मातहतका निकायहरुलाई निर्देशन दिइसकेको थियो । थुनिएको नदिले बनाएको बाँध फुट्दा जोखिम हुने भन्दै सरकारले म्याग्दी, मुस्ताङ, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, तनहुँ र नवलपरासीका कालिगण्डकी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच,उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पहिरो नरोकिएसम्म थुनिएको कालीगण्डकी खुलाउने काम अघि बढ्न नसक्ने बताउनुभएको छ । थुनिएको कालीगण्डकी अवलोकन गर्न म्याग्दी आएका गौतमले सदरमुकाम बेनीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नदी किनारका बस्ती सुरक्षित स्थानमा राख्नु नै अहिलेको विकल्प भएको बताउनुभयो ।
उहाँले प्राविधिक र इन्जिनियरको टोली तयारी अबस्थामा रहेको बताउँदै पहिरो रोकिनेबित्तिकै टोली परिचालन हुने जानकारी दिनुभयो ।