कालीगण्डकी नदी खोल्न गएको हेलिकप्टर फर्कियो
गोपाल छन्त्याल, बेनी ।
म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले मध्यरातीबाट थुनिएको कालिगण्डकी नदी खोल्ने प्रयास सुरु हुन सकेको छैन । राजधानीबाट उपकरण सहितको सुरक्षाकर्मीको टोली घटनास्थल पुगेपनि हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ नभएपछि सदरमुकाम बेनीबजार फर्किएको छ । काठमाण्डौबाट घटनास्थल पुगे लगत्तै नेपाली सेनाको प्रबिधिक टोलीले आकाशबाट घटनास्थलको अबलोकन गरेपनि ल्याण्ड गर्ने ठाउँ नभएपछि प्रक्रिया सुरु हुन नसकेको हो । नदी गएराती एक बजेबाट थुनिएपछि बेनी बजार, गलेश्वर लगायत एक दर्जन बढी बस्ती उच्च जोखिममा परेका छन् । पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले भिषण रुप लिँदा भगवती –२ स्थित बँैसेरीमा कालिगण्डकी नदी थुनिएको हो । राती एक बजेबाट नदी थुनिएपछि वैसरीमा ठुलो ताल बनेको छ भने सदरमुकाम बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थान उच्च जोखिममा परेका छन् । बैसरी र फेदीका २६ घर पुरै पुरिएको प्रहरी नायब उपरिक्षक हिरा गिरीले जानकारी दिनुभयो । राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको थियो ।