एमालेको एक महिने अभियान सुरु
काठमाडौं, १० जेठ ।
भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण र राहतका लागि नेकपा एमालेको एक महिने अभियान आज सुरु भएको छ । आगामी असार १० गतेसम्मका लागि खटिने स्यमसेबक दस्ताको काठमाडौंको भृकुटीमण्डप सहित बिभिन्न स्थानमा एक कार्यक्रम गरी एमालेले आज बिदाई गरेको छ । सो दस्ताले भुकम्प प्रभाबित क्षेत्रमा पुर्नस्थापना र पुर्ननिर्माणको कार्य सञ्चालन गर्नेछन् । काठमाडौं उपत्यका सहित बढी प्रभावित बिभिन्न ९ जिल्लामा खटिने स्वयंसेवकहरुलाई अध्यक्ष केपी ओलीले राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रम गरी बिदाई गर्नुभयो । यस्तै पोखरा, सिराहाको लाहान, मकवानपुरको हेटौडा र सिन्धुलीमा समेत एक कार्यक्रम गरी एमालेले नजिकका जिल्लाहरुका लागि खटिने कार्यकर्ताहरुको बिदाई गरेको छ । उनीहरु गोरखा, लमजुङ्ग, सोलुखुम्बु, ओखलढुङ्गा, मकवानपुर, चितवन र सिन्धुलीका लागि परिचालन हुनेछन् ।
त्यस्तै बिभिन्न ५ माओबादीले पनि आजबाट एक साथ पुर्नस्थापना र पुर्ननिर्माणको काम सुरु गरेका छन् । संयुक्त टोली प्रभाबित बिभिन्न १५ जिल्लामा खटिने बताईएको छ । अभियानको आज नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । संयुक्त रुपमा श्रम अभियानमा जुट्ने माओवादीको संयुक्त टोलीले पीडितहरुका लागि आवास निर्माण गर्ने, भत्किएका विद्यालय तथा स्वास्थ्य चौकीहरुको अस्थायी घर निर्माण गर्ने, भत्केका घरहरुको सामग्री पन्छाउने तथा पीडित जनताको आवश्यकता अनुसारको श्रम गरिदिने योजना बनाएका छन् ।