पहिलो टेष्टमा न्युजिल्याण्ड बलियोस्थितिमा
जेठ १०, एजेन्सी ।
ईङ्ल्याण्ड बिरुद्धको पहिलो टेष्ट क्रिकेटमा न्युजिल्याण्ड बलियोस्थितिमा पुगेको छ । दोस्रो ईनिङ्गस्मा समेत ईङ्ल्याण्डले खराव सुरुवात गरेपछि भ्रमणकारी टोली बलियो स्थितिमा पुगेको हो । तेस्रो दिनको खेलको समाप्तिमा ईङ्ल्याण्डले २ विकेट गुमाई ७४ रन जोडेको छ । ईङ्ल्याण्ड अझै ६० रनले पछि छ ।
यसअघि कान विलिएम्सनले १ सय ३२ रनको योगदान गरेपछि किबिज टोलीले पहिलो ईनिङ्गस्मा ५ सय २३ रन जोडेको थियो । ६७ अतिरिक्त रन पाएको न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ७०, रोस टेलरले ६२, बिजि वाट्लीङ्गले ६१ र टोम लाथमले ५९ रन जोडेका थिए । स्टुवार्ड ब्रोड, मोईन अली र मार्क उडले समान ३ विकेट लिए ।
यसअघि लण्डनमा टस हारेर ब्याटिङ्ग गरेको ईङ्ल्याण्ड पहिलो ईनिङ्गस्मा ३ सय ८९ रनमा समेटिएको थियो ।