Live Streaming

हावाहुरीले चार जनाको मृत्यु

काठमाडौं, १० जेठ ।
शनिवार साँझको हावाहुरीले रुख लडेर किच्दा काठमाडौं, झापा, मोरङ र सुनसरीमा चार जनाको मृत्यु भएको छ । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा रुखले  घर किच्दा ४ बर्षिया एलिना राईको मृत्यु भएको हो । रुखले किच्दा बेलडागी–२ स्थित भुटानी शरणार्थी शिविर सेक्टर बी– वान छाप्रो नम्बर ९७ मा बसिरहेकी उनकी आमा ३५ वर्षिया मनमाया राईको खुट्टा भाँचिएको छ ।
यस्तै मोरङको पथरी–शनिश्चरे नगरपालिका १२ मा हावाहुरीले लडाउँदा सोही ठाउँका ५५ वर्षिय कमल अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यस्तै हावाहुरीले लडेको रुखले किचेर धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी एक डाक्टरको मृत्यु भएको छ । राति साँढे ८ बजेतिर आएको हावाहुरीका कारण रुख लडेर किच्दा प्रतिष्ठानको हाताभित्रै रहेको आवास गृहमा रहेकी डा. रञ्जना देवकोटाको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट घोपाका प्रहरी नायव निरीक्षक तिलकबहादुर गिरीले जानकारी दिए ।

यता राजधानीको सानोभ¥याङमा हावाहुरीले रुख भाचेर किच्दा एक महिलाको मृत्यु भएको छ । कलंकीबाट बालाजुतर्फ आउदै गरेको बा ३४ प ११०६ नम्बरको मोटरसाइकलमा सवार बुढानिलकण्ठ ३ की ३२ बर्षीया लक्ष्मी सुवेदी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका श्रीमान गणेश दाहाल घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।