थुनिएको कालीगण्डकी खोल्ने प्रयास सुरु
गोपाल छन्त्याल, म्याग्दी ।
म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले मध्यरातीबाट थुनिएको कालिगण्डकी नदी खोल्ने प्रयास केहीबेर अघि सुरु भएको छच । राजधानीबाट उपकरण सहितको सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न ढिलाई भएपछि गएराती एक बजेबाट थुनिएको नदी खोल्ने प्रयास केहीबेरअघिबाट मात्र सुरु भएको हो । स्थानिय प्रसासनले नदी थुनिएपछि पानीको सतह उच्च रहेकाले नदी खोल्न उपकरण भएको भन्दै केन्द्रसँग सहयोग मागेको हो । प्राविधिक सहितको टोलीले अहिले हेलिकप्टरबाट थुनिएको स्थानको अवलोकन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, नदी थुनिएपछि दुई सय मिटर गहिरो, एक सय मिटर चौडाई र झण्डै एक हजार पाँच सय मिटर लम्बाई भएको पानीको दह बनेको छ ।
राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले भिषण रुप लिँदा भगवती –२ स्थित बँैसेरीमा कालिगण्डकी नदी थुनिएको हो । राती एक बजेबाट नदी थुनिएपछि वैसरीमा ठुलो ताल बनेको छ भने सदरमुकाम बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थान उच्च जोखिममा परेका छन् । बैसरी र फेदीका २६ घर पुरै पुरिएको प्रहरी नायब उपरिक्षक हिरा गिरीले जानकारी दिनुभयो । पहिरो खसेर नदी थुनिएपछि प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा बसेको हाम्रा सहकर्मी गोपाल छन्त्यालले जनाएका छन् ।
कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दाना लगायतका स्थानमा समेत डुवानको खतरा बढेकोे छ । राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको थियो ।
( तस्विरहरु म्याग्देली भाइको सामाजिक सञ्जालबाट )