Live Streaming

हावाहुरीले तनहुँमा ठूलो क्षति

पवन पौडेल, तनहुँ  ।  शनिबार दिउँसो हावाहुरीसंगै आएको असिनापानीका कारण जिल्लाभर ठूलो क्षति भएको छ । हावाहुरीले व्यास नगरपालिका, क्यामिन, केशवटार,जामुने तथा आसपासका गाविसमा धेरै घरको छानो उडाएको छ । दिउँसो करिब तीन बजे आएको हावाहुरीले दमौलीमा रहेको कभर्डहलको आधा भन्दा बढी भागको छानो उडाएको छ । बीपी वन वाटिका मैदान, शिक्षा कार्यालय र जिल्ला कारागारसम्म छानो पुगेको छ । 
हुरीले व्यास १ चारकुने टोलमा करिब १५ घरको टिनको छानो उडाएको छ । 
स्थानीय रामकृष्ण सापकोटा, सीता बस्नेत, चिजा न्यौपाने लगायतको घरको छानो उडाएको स्थानीय मणिजंग बस्नेतले जानकारी दिए । भूकम्पले बस्न नहुने गराएको घरको छानो समेत उडाए पछि बसोबासमा समस्या भएको छ ।
केशवटार ७ आँपटोलमा हुरीले नरबहादुर थापा पाटाको घरका सबै जस्तापाता उडाएको छ । हुरीले छानो उडाए पछि अन्न सबै भिजेर नष्ट भए पछि थापा परिवार पालमुनि बसेको छ । 
केशवटार बजारमा हुरीले ठूलो स्वामीको रुख ढलेर दमौली सुखौरा मोटरमार्ग अवरुद्ध बनाएको छ । यसैगरी स्थानीय यामबहादुर थापाको घरको पनि जस्ता उडाएर क्षति पु¥याएको छ भने केशवटार २ स्थित अमरज्योती निमाविको आठ कोठे भवनको सबै जस्ता हुरीले उडाए पछि कम्प्युटर ल्याब, पुस्तकालय, कार्यालय कक्ष र सबै कक्षाकोठामा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति दुर्गा आलेले जानकारी दिए । 
हावाहुरीले जामुनेको मानुङमा पनि करिब १० घरको छानो उडाएको छ । छानो उडाए पछि धेरै परिवारलाई घरमा बस्न समस्या भएको स्थानीय युवा नेता चामबहादुर थापाले बताए । हुरीले स्थानीय विजय निमाविको छानो पनि उडाएको बताइएको छ ।
हुरीका कारण पृथ्वी राजमार्गका विभिन्न भागमा सडकमा रुख ढले पनि राजमार्ग अवरुद्ध नभएको र अवरोध हटाइएको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए । 

घर भत्केकालाई मार
हावाहुरीले त्रिपाल उडाएपछि त्यसैको सहारामा बस्दै आएका परिवार थप संकटमा परेका छन् । त्रिपालमुनि बस्दै आएको क्यामिन बोटे गाउँको सुकबहादुर बोटे परिवारलाई अब कहाँ आश्रय लिने थाहा छैन । ‘घर चर्केपछि पालको सहारामा बसेका थियौं,’ उनले भने,‘अब त्यो पनि हुरीले उडाइदियो । अब के गर्ने ?’
क्षतिको विवरण आउँदै
हुरीले कृषिबालीमा पनि ठूलो क्षति भएको ठानिएको छ । हुरी र साना असिनाले मकै बालीमा ठूलो क्षति पु¥याएको छ । व्यास नगरपालिका र क्यामिन क्षेत्रमा लगाइएका मकै अधिकांशजसो ढलेका छन् । यसैगरी अन्य गाविसहरुमा पनि मकै बालीमा क्षति पुगेको जानकारी प्राप्त भएको छ । यद्यपि जिल्ला कृषि विकास कार्यालयले भने क्षतिको विवरण आइ नसकेको जनाएको छ ।