विश्वविद्यालयका कामकारवाही वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
जेठ ८, काठमाडौं ।
उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पले क्षति पु¥याएपनि विश्वविद्यालयका कामकारवाही वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गर्न त्रिवि पदाधिकारीलाई आग्रह गर्नुभएको छ । भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय निरिक्षण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले त्रिवि शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उपप्रधानमन्त्री सिंहलाई विश्वविद्यालयका उपकुलपति प्रा डा हीराबहादुर महर्जन, शिक्षाध्यक्ष प्राध्यापक गुणनिधि न्यौपाने, निमित्त रजिस्टार देवराज अधिकारी, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानालगायतले विश्वविद्यालयमा भूकम्पले पारेको क्षति सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले आजै भूकम्पका कारण प्रभावित कीर्तिपुर क्षेत्रको पनि निरीक्षण गरी त्यसले पारेको क्षति तथा भइरहेको राहत वितरणलगायतका विषयमा जानकारी लिएका थियो भने साँझ स्वयम्भु क्षेत्रको अवलोकन गर्ने उहाँका सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो ।