भूकम्पपछि माछाको बिक्रीमा नब्बे प्रतिशत गिरावट
सुर्यप्रसाद कँडेल, चितवन ।
वैशाख १२ गतेको विनासकारी महाभूकम्पको असर चितवनको कृषि क्षेत्रमा पनि परेको छ । माछा उत्पादनमा पहिचान बनाउँदै गरेको चितवनमा उत्पादित माछाको बिक्रीमा भूकम्पपछि नब्बे प्रतिशतले गिरावट आएको छ ।
भूकम्पले मत्स्य व्यवसायमा भारी असर पारेको र माछा बिक्न छाडेपछि दाना खुवाएर माछा पोखरीमै पालिरहनुपर्ने बाध्यता थपिएको व्यवसायीहरुले बताएका छन् । भूकम्पपछि माछाको व्यापारमा ९० प्रतिशत गिरावट आएको नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो ।
चितवन र काठमाडौँमा जिउँदो माछा पसल सञ्चालनमा ल्याएका अधिकारीले चितवनमा समेत माछाको बिक्री घटेको बताउनुभयो । माछाको राम्रो उत्पादन हुने पर्सा, बारा जिल्लाबाट वैशाख यता दुई गाडी माछा काठमाडौँ गएपनि बिक्री गर्न समस्या भएको व्यवसायिहरु बताउँछन् । माछाको बिक्री घटेपछि माछापालक किसानलाई ज्यादै समयस्या भएको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो । उत्पादनको उमेर पुगेका माछालाई पोखरीमा दाना खुवाएर पाल्नुपर्दा लागत वृद्धि भएर किसानलाई घाटा हुने भएको छ ।
गर्मीको मौसममा माछा उत्पादन कम हुने भएपनि भूकम्पले ज्यादै असर परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माछा, केरा, तरकारीलगायतको क्षेत्रमा असर पारेको कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो ।