Live Streaming

​मन्त्रीको लागि नेताको खोजी

जेठ ८, काठमाडौं । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दीपकचन्द्र अमात्यको राजीनामा आज स्वीकृत गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमात्यले हिजो साँझ नै राजीनामा पत्र प्रधानमन्त्री सुशील कोइरालालाई बुझाइसक्नु भएको छ । पार्टीको निर्णय अनुसार मन्त्री अमात्यले राजीनामा दिएकाले नयाँ व्यक्ति पठाइने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो । मन्त्री भएदेखि नै राम्रो काम गर्न नसकेको भन्दै पार्टीभत्र उहाँको निरन्तर आलोचना भइरहेको थियो ।

यसअघि एमालेकै अर्का नेता भीम आचार्यलाई हटाएर अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो । अमात्यलाई केही समययता पार्टी नेतृत्वले नेपाल पर्यटन बोर्ड र नेपाल बायु सेवा निगमसहितका राजनीतिक नियुक्ति गर्न निरन्तर दबाब दिइरहेको स्रोतले दाबी गरेको छ । अमात्यले राजीनामा दिएपछि उहाँको विकल्पमा अर्काे नेताको खोजी शुरु भएको छ ।

अध्यक्ष केपी ओली निकट स्रोतका अनुसार भोजपुरबाट प्रत्यक्ष निर्वाचित सभासद कृपासुर शेर्पालाई नयाँं मन्त्रीका रुपमा पठाउने तयारी छ । जनजाति र पार्टी राजनीतिमा सक्रिय शेर्पा नेपाल सरकारका पूर्व कर्मचारी पनि हुनुहुन्छ ।