Live Streaming

​प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सभासद्को तर्फबाट अढाइ करोड बढी रकम प्रदान

 जेठ ७, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संविधानसभाका पदाधिकारी र सभासद्हरुले २ करोड ५७ लाख ८१ हजार ५ सय ९० रुपैया सहयोग प्रदान गर्नुभएको छ ।
सभासद्हरुबाट संकलित रकमका चेकहरु संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङ्गले बिहिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको छ ।
राजनीतिक दलहरुको बैशाख १४ गते बसेको सर्वदलीय बैठकले संविधानसभाका पदाधिकारी र सदस्यहरुको एक महिनाको तलब भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
सभासद्हरुको तर्फबाट भूकम्प पीडितहरुको लागि दिइएको सहयोग रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउदा देश र जनाताको भाग्य विधाताको रुपमा रहेका सभासद्हरु पनि जनताको रक्षाका लागि अग्रसर हुनु पर्ने बताउनु भयो । नेपालको इतिहासमा ८२ बर्षपछि आएको यो विनासकारी भूकम्पले ल्याएको महाविपत्तिको सामना गर्न  व्यवस्थापिका संसद र संविधानसभामा राजनीतिक दलहरुले देखाएको सहकार्य,एकता र मेलमिलाप अद्धितीय रहेको पनि बताउनु भयो ।
उहाँले यो विपत्तिबाट देशलाई पार लगाएर मुुलुकमा संविधान, शान्ति,स्थिरता,विकास ल्याउन पनि वर्तमान संविधानसभा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्धारकोषमा संसदका कर्मचारीको ११ लाख
आजै प्रधानमन्त्री राहत कोषमा संसद सचिवालयका कर्मचारीहरुले ११ लाख ९ हजार १सय ७५ रुपैया सहयोग प्रदान गरेका छन । 
संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले संकलन गरेको सो रकम व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सोही कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको मासिक तलब कट्टा गरी सो रकम  संकलन गरिएको थियो ।
प्रधानमन्त्री कोइरालाले जनताले पेट काटेर दिएको राहत रकम र सामग्रीको वितरणमा पक्षपात र अनियमितता हुन नदिन दाताहरुले पनि निगरानी गर्न पर्ने बताउनु भयो । उहाँले राहत रकम हिनामिना गर्ने र राहत सामग्री जमाखोरी गर्ने र वितरणमा पक्षपात गर्नेलाई सरकारले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने पनि बताउनु भयो ।