Live Streaming

भूकम्पले बाढीपीडित ओझेलमा त्रिपाल च्यातिए, शिविरमा बिचल्ली

ललितबहादुर बुढा सुर्खेत  ।  बैशाख १२ गतेको महाभूकम्पका कारण राज्यको ध्यान त्यसतर्फ केन्द्रित हुँदा सुर्खेतका बाढीपीडितहरु ओझेलमा परेका छन् । जसको कारण बाढीपीडितको पुनसर््थापनाको प्रक्रिया समेत अहिले अलपत्र परेको छ । बाढी र पहिरोका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका यहाँका बाढीपीडितहरुको विजोग भएको छ । सरकारले राहत स्वरुप प्रदान गरेका त्रिपाल पनि हावाहुरीका कारण च्यातिएपछि उनीहरुको विजोग भएको हो । 

गएको साउन अन्तिम साताको बाढीपहिरोका कारण घरबार गुमाएपछि विस्थापित शिविरमा शरण लिन पुगेका जिल्लाका बाढीपीडितहरुको हालसम्म पनि पुनसर््थापनाको काम सुरु भएको छैन । लामो समयसम्म पनि सरकारले आफूहरुको पुनसर््थापना नगरेको भन्दै विस्थापितहरुले आफूहरुको दैनिकी थप कष्टकर भएको बताएका छन् । राहत स्वरुप पाएका त्रिपाल समेत अहिले हावाहुरीका कारण च्यातिएको भन्दै अब बसोबासका लागि पनि समस्या भएको उनीहरुको दुखेसो छ । साथै उनीहरुले तत्काल आफूहरुको पुनसर््थापना नभए वर्षातको समयमा खुल्ला आकासमै रात विताउनुपर्ने अवस्था आएको भन्दै चिन्ता समेत व्यक्त गरे । 
शिविरमा बसेको एक वर्ष पुग्न लाग्दा समेत राज्यले पुनसर््थापनाको प्रक्रिया सुरु नगरेर आफूहरुलाई त्रिपालमा वन्दी बनाएको गुनासो विस्थापितहरुले गरेका छन् । राहत तथा क्षतिपुर्तिको आशमा विगत १० महिनादेखि अस्थायी शिविरमा बस्दै आएका उनीहरुले हालसम्म पनि सरकारले पुनसर््थापनाको प्रक्रिया सुरु नगरेर आफूहरुलाई त्रिपालभित्रै वन्दी बनाएको गुनासो गरेका हुन् । राहत र पुनसर््थापना दुवै काम अहिले ओझेलमा परेको भन्दै पीडितहरुले राहत भन्दा पनि पुनर्बासको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

हिजोआज हावाहुरीका कारण शिविरमा रहेका त्रिपाल च्यातिएको भन्दै उनीहरुले अब बस्नका लागि समेत समस्या भएको बताए । महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरमा बस्दै आएका विस्थापित पदमलाल शाहीले आफूहरुको उठीबास भएको एक बर्ष वित्न लाग्दा समेत राज्यले पुनसर््थापनामा वेवास्ता गरेको बताए । उनले भने, ‘चर्को गर्मीमा पनि हामीले शिविरमा पीडा सहेर बस्नु परेको छ, सरकारले दिएका त्रिपाल पनि अहिले च्यातिएका छन् । वर्षातको मौसम सुरु हुन लाग्यो, अब हामी कहाँ बस्ने ?’ अब आफूहरु धेरै दिन त्रिपालमा बस्न नसक्ने भन्दै उनले तत्काल पुनसर््थापनाको प्रक्रिया सुरु गर्न सरकारसँग माग गरे । 
 गर्मीको समयमा सर्पको त्रास र हावाहुरीका कारण आफूहरु रातभर नसुतेरै उज्यालो हुने गरेको बाढीपीडितले बताएका छन् । विस्थापित बमबहादुर कामीले हिजोआज आफूहरुले राहत समेत नपाएको गुनासो गरे । विभिन्न संघसंस्थाहरुले राहत वितरण गरेको बताएपनि त्यो वास्तविक पीडितले नपाएको उनको भनाइ छ ।

उनले भने, ‘पुनसर््थापनाको आशमा त्रिपालमा बसेको १० महिना पुग्यो, तर फेरी बाढीपहिरो आउने मौसम आइसक्दा समेत सरकारले कुनै वास्ता गरेन । घाम छेक्ने त्रिपाल पनि च्यातिएर गए, अब वर्षातमा कसरी ज्यान जोगाउने हो थाहा छैन ।’ शिविरमा बस्दै आएकी मनकुमारी सुनारले महिला र बालबालिकाको लागि त्रिपालको बसाई कष्टकर बनेको दुखेसो पोखिन । त्रिपालमा बस्दा आफूहरुले विभिन्न हिंसा भोग्नु परेको उनको भनाई छ । उनले छिटो पुनसर््थापनाको काम सुरु गर्न र राहत उपलक्ध गराउन सरकारी तथा गैर सरकारी निकायसँग आग्रह समेत गरिन । 

बाढीपहिरोका कारण विस्थापित भएका करिब एक हजार परिवार विगत १० महिनादेखि जिल्लाका विभिन्न स्थानमा रहेका अस्थायी शिविरमा त्रिपालमुनी बस्दै आएका छन् । गर्मी र वर्षातको मौसम सुरु हुँदा समेत आफूहरु अस्थायी शिविरमा च्यातिएका त्रिपालमुनी बस्नु परेको दुखेसो बाढीपीडितहरुले पोखेका छन् । लामो सयमसम्म पनि पुनसर््थापनाको कुनै टुंगो नलागेपछि अहिले अधिकांश विस्थापित शिविरका पुरुषहरु मजदुरीका लागि मुग्लान पसेका छन् । पुरुषहरु विदेश गएपछि शिविरमा महिला तथा बाललबालिकाहरुको थप विचल्ली भएको छ । तर, सरकारले विस्थापितको पुनसर््थापनका लागि हालसम्म कुनै काम सुरु गरेको छैन ।