सरकारलाई सल्लाह दिने समितिका संयोजक नै प्रधानमन्त्री
जेठ ७, काठमाडौं । सरकारले भुकम्पप्रभावितका लागि राहत, पुनस्र्थापना र पुननिमार्णको ब्यवस्था सहज बनाउनेगरि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेभएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार उक्त संयन्त्रको संयोजक प्रधानमन्त्री आफै रहनुहुनेछ ।
संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन समितिले संयन्त्र गठनबारे सचेत गराएलगत्तै मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो । केही दिनभित्रै पूर्णता पाउने उक्त संयन्त्रमा राजनीतिक दलका प्रतिनिधि, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिव लगायत सदस्य हुनेछन् ।
आजै बसेको बैठकले विद्यालय, अस्पताल र सामुदायिक भवनहरु बनाउन स्वीकृति दिने निर्णय पनि गरेको छ । यसअघि सरकारले असारमसान्तसम्म कुनै पनि भवन बनाउन नपाइनेगरी सर्कुलर जारी गरे पनि आज आफ्नो पूरानो निर्णय परिमार्जन गरेको हो । यद्यपी नीजि भवन बनाउन भने असारमसान्तसम्म कुर्नुपर्नेछ ।