भुकम्प प्रभावित क्षेत्रमा दलहरु खटिंदै
जेठ ७, काठमाडौं ।
भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण र राहतका लागि विभिन्न राजनैतिक दलहरुले गठन गरेका स्वयमसेवक दस्ताहरु कार्यक्षेत्रमा खटिदैछन ।
कांगे्सले पार्टीबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आजदैखि टोली खटाउँदैछ । भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न सुरु गरेकोे ‘हाम्रो श्रमदान अभियान’ प्रभावकारी बनाउन यसअघिनै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा श्रमदानको लागि २५/२५ जनाको टोली गठन गरिएको उपसभापति रामचन्द्र पौडलले जानकारी दिनुभयो । टोलीले सात दिनसम्म तोकिएको गाउँमा गएर प्रभातिहरुका लागी बासस्थानको निर्माण गर्न सहयोग गर्ने छ ।
यस्तै एकीकृत माओवादीले पार्टीका तर्फबाट भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा खटिने टोलीलाई आज बिदाइ गर्दैछ । दिउँसो पार्टी कार्यालय कोटेश्वरमा एक कार्यक्रम गरी औपचारिक बिदाइ गर्न लागिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । माओवादीले शीर्ष नेताहरुको नेतृत्वमा विभिन्न जिल्लास्तरका नेता÷कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटाएको छ ।
यस्तै नेकपा एमालेले महाभूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा परिचालन गर्न लागेको स्वयंसेवकहरुका लागि आज अभिमुखीकरण गर्ने भएको छ । दिउँसो एक कार्यक्रम गरी स्वयमसेवकहरुलाई प्रशिक्षण दिन लागेको हो । स्वयंवेकसँग पार्टीका केन्द्रीय नेताहरुलाई पनि अनुगमनका लागि खटिने गरी जिम्मेवारी तोकिसकेको छ । अभिमुखिकरण तालिम पश्चात टोली १० गतेदेखि प्रभावित क्षेत्रमा एक महिनाको लागि खटिनेछन ।