पराकम्पन जानेक्रम नरोकिए पनि धेरै कमी
जेठ ७, काठमाडौं ।
विनाशकारी भुकम्प आएको एक महिना बित्नै लाग्दा त्यसपछिका पराकम्पन जानेक्रम नरोकिए पनि धेरै कमी आएको छ ।
गत शनिबार चार म्याग्निच्युड माथिका ९ ओटा पराकम्पन गएकोमा त्यसयता पराकम्पन क्रमशः घट्दै गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हिजो अपरान्ह २ बजेर ४७ मिनट जाँंदा ४ दशमलव ४ म्याग्निच्युडको र बिहान ११ बजेर १० मिनट जाँंदा ४ दशमलव २ म्याग्निच्युडको गरी दुई वटा मात्र पराकम्पन गएका थिए ।
त्यस अघि मंगलबार र सोमबार पनि तीन तीन पराकम्पन गएका थिए भने गत आइतबार पनि तीन वटा मात्र पराकम्पन गए । विज्ञहरुले विस्तारै पराकम्पनका संख्या र शक्ति पनि घट्दै जाने बताउँंदै आएका छन् । पराकम्पन केही दिन जारी रहे पनि कमी हुँंदै जाने उनीहरुको विश्लेषण छ । उनीहरुले ठूलो पराकम्पनको सम्भावना नरहेको भन्दै त्रासमुक्त हुन पनि आग्रह गरिरहेका छन् ।
यसैबीच गत बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी अहिले सम्म ८ हजार ६ सय २४ जनाको ज्यान गएको छ । भने २१ हजार ७ सय ७७ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय २६, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ३ सय ८९, पश्चिम क्षेत्रमा ४ सय ५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ७ सय ७३, पूर्व क्षेत्रमा ४ सय ५१, मध्य क्षेत्रमा ७ हजार १ सय ८३, पश्चिम क्षेत्रमा १ हजार ३ सय ३२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८ हजार ५ सय ६० जनाको शव आफन्तलाई बुझाई सकिएको प्रहरीले जनाएको छ ।