अब यसो गरौं : गगन थापा
काठमाडौं, जेठ ६ ।
नेपाली कँग्रेसका नेता एबं सभासद गगन थापाले बर्तमान सरकारलाई नै विस्तार गरेर सहमतिय सरकार निर्माण गर्न सकिने बताउनुभएको छ ।
रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा आज विहान कुरा गर्दै उहाँले सरकारको नेतृत्व परिवर्तन गर्दैमा विपद व्यवस्थापन नहुने भएकाले सुशील कोइरालाकै नेतृत्वमा विपक्षी दल पनि सामेल भएर राष्ट्रिय सरकार निर्माण गर्न सकिने बताउनुभयो ।
यद्यपी विपद व्यवस्थापनका लागि शक्तिशाली प्राधिकरण एबं सयन्त्र आवश्यक रहेको बताउँदै विपत्तिको सामना गर्न सबैले सरकारलाई सघाउनु पर्ने उहाँको भनाइ थियो । यसैगरी उहाँले वैदेशिक सहायता एकद्वारबाट परिचालन गर्ने सरकारको नीति भएपनि विभिन्न संस्थाहरूले पनि सरकारको समन्वयमा आफैं काम गर्न सक्ने बाताबरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
संसदको कृषि समितिका सभापति समेत रहेका थापाले भूकम्पबाट घरबार र परिवार गुमाएकाहरुको लागि राज्यले उचित ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो । यो राष्ट्रिय ढुकुटी खोल्ने बेला भएकोले सबै प्रभावितहरुले सरकार भएको महसुस गर्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले कृषकलाई प्रत्यक्ष राहत हुनेगरी धानको विउ वितरण गर्न, घुम्ति भेटेनरी सेवा तत्काल उपलब्ध गराउन र भुकम्प प्रभावितहरुलाई गाई भैसी किनिदिन मन्त्रालयलाई आग्रह गरेको बताउनुभयो ।
यस्तै भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा बनाउने अभियानमा सक्रिय नेता थापाले वर्षातअघि नै अस्थायी घर, टहरा बनाउन र व्यवस्थितरुपमा स्वयंसेवक परिचालनको योजनाका साथ काममा जुट्न पनि आह्वान गनुभएको छ । उहाँले युवा, विद्यार्थी र अन्य विभिन्न क्षेत्रबाट स्वयंसेवक प्रभावित क्षेत्रमा पुगेर सन्देशमूलक ढंगले काम गरिरहेको, तर योजनाबद्ध र व्यवस्थितरुपमा यसलाई अघि बढाउन जरुरी रहेको बताउनुभयो । अहिलेको महत्वपुर्ण आवश्यकता अस्थाई वसोवास नै भएको चर्चा गर्दै नेता थापाले राहतको प्रत्याभुति, पुर्नस्थापनालाई ध्यानमा राखेर अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।