पराकम्पन कम हुँदै
काठमाडौं, जेठ ६ ।
भूकम्पको पराकम्प कम हुँदै गएपछि जनजीवन सामान्य हुन थालेको छ । अघिल्लो हप्ताको तुलनामा सडक बजारमा पनि चहलपहल बढेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हिजो तीनवटा मात्र पराकम्प गएको छ । बेलुकी पौने ५ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएपछि त्यसपछि ४ भन्दा माथिको पराकम्प गएको छैन । काठमाडौंमा राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । आइतबार र सोमबार तीन तीन वटा पराकम्प गएका थिए ।
वैशाख १२ गते भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका २ सय ४८ वटा पराकम्प गएको छ । ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ । विज्ञहरुका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षति गर्दैन ।