Live Streaming

पराकम्पन कम हुँदै

काठमाडौं, ५ जेठ ।
विनासकारी भुकम्पपछि पराकम्पन जाने क्रम नरोकिए पनि कम हुँदै गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार आज बिहान चार म्याग्निच्युड माथिको एउटा मात्र भुकम्प आएको छ ।  केन्द्रका अनुसार १० घण्टाको अन्तरमा आज बिहान ४ बजेर ३४ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव ३ म्याग्निच्युडको भुकम्पको धक्का महसुस भएको छ । यसअघि हिजो साझँ ६ बजेर २७ मिनेटमा धादिङ÷गोरखा केन्द्रविन्दु बनाएर ४ दशमलब १ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस गरिएको थियो ।  हिजो तीन वटा पराकम्पन गएका थिए । 

दुई दिन अघि आइतबार पनि निकै कम पराकम्पन गएका थिए । केन्द्रका अनुसार त्यसदिन ४ म्याग्निच्युडको माथिका जम्मा तीन भुकम्पन गएका थिए । विज्ञहरुले पराकम्पनका ठूला धक्को सम्भावना नरहेको र अब विस्तारै कमी हुँंदै रोकिने बताएका छन् । पराकम्पनका धक्का घट्दै गएपछि आम नागरिकमा त्रासको मात्रा पनि घट्दै गएको छ । गत वैशाख १२ गतेको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पपछि हालसम्म चार  म्याग्निच्युडभन्दा माथिका २ सय ४५ पराकम्पन गएको केन्द्रले जनाएको छ ।


यसैबीच बिनासकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७ पुगेको छ  । प्रहरीले गराएको पछिल्लो जानकारी अनुसार बैसाख २९ गते आएको भूकम्पमा परी १ सय ४९ जनाको मृत्यु भएको छ । त्यसैगरी ३ हजार २ सय १५ जना घाइते भएका छन् । बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी ८ हजार ४ सय ५८ जनाको ज्यान गएको छ भने १८ हजार ५ सय ५ घाइते भएका छन् । भूकम्पपछि २ सय ५२ नेपाली र १ सय ११ विदेशी नागरिक बेपत्ता छन् ।