प्राथमिकता पहिचान गर्न भारतीय विशेष टोली नेपाल आउँदै
दीपक धिताल, काठमाडौं ।
विनाशकारी भूकम्पपछि पुनर्निर्माण र पुनस्स्थापनाको योजनामा सघाउ गर्ने उद्धेश्य सहित भारत सरकारको विशेष टोली आज काठमाडौं आउदैैछ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा अतिरिक्त प्रमुख सचिव पीके मिश्र तथा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर सहितको टोलीले नेपाल बसाईका क्रममा सहयोगका लागि प्राथमिकता पहिचान गरी भारतीय सरकारलाई सुझाव दिनेछ ।
काठमाडौं आए लगत्तै सो टोलीले नेपाल सरकारका उच्च पदाधिकारीसँग विशेष परामर्श गर्ने छ । भूकम्प र ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले पुनर्निमाण योजनामा अन्तराष्ट्रिय दातृ समुदायको साथ–सहयोग आह्वान गरेलगत्तै भारत सरकारले निकटस्थ छिमेकी एवं सहयोगीका रूपमा नेपालका प्राथमिकता बुझ्न चाहेको साउथ ब्लक स्रोतले जानकारी दिएको छ । टोलीले अपरान्ह साँढे तीन बजे प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको समन्वयमा गृह, भौतिक योजना, अर्थ, स्वास्थ्य, कृषि मन्त्रालय सहितका पदाधिकारीसँग विशेष बैठक गरेर भारतीय टोली फर्कनेछ ।