Live Streaming

डढेलधुरा र मकवानपुरमा दुर्घटनामा १६ जनाको मृत्यु

काठमाडौं, ४ जेठ । डढेलधुरा र मकवानपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि १६ जनाको मृत्यु भएको छ । भिमदत्त पन्त राजमार्ग अन्तर्गत डडेलधुराको मेलखर्कमा आज साँझ भएको दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । भने ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ५ ख १६८५ नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खोलामा खसेको सुदुर पश्चिम क्षेत्रका डिआईजी रामप्रसाद खनालले जानकारी दिनुभयो ।  भीरमा गाडी फसेका कारण उद्धारमा कठिनाई भएको र अहिलेसम्म तीन जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीलाई उधृत गर्दै डोटी सहकर्मी शिवराज भट्टले जनाएअनुसार, डडेलधुरा जोगबुढा गाविस माझपानीकी राजमति धामी, डडेलधुरा गाङखेत ८ कि डम्बरा कामी र दार्चुला अपि ६ कि परुली धामीको मात्रै सनाखत भएको छ । 
त्यस्तै आज दिउसो मकवानपुरको मनहरी–३ रमनटारमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ भन्दा बढी यात्रु घाईते भएका छन् । हेटौंडाबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ३६९७ नम्बरको बस र नारयणगढबाट हेटौंडा जाँदै गरेको ना४ख ५७६५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ९ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले बताउनुभयो । मृत्यु हुने भारत पूर्बी चम्पारण आधापुर गम्हरियाका ३० बर्षीय अस्लाम मिया, नवलपरासीको देवचुली नगरपालिका–७ कि २७ बर्षीया मिसल गुरुङ भट्टराई, चितवन बीरेन्द्रनगर–७ का ५३ बर्षीय मोखा गुरुङको मात्र सनाखत भएको डीएसपी शर्माले जानकारी दिनुभयो । घाईतको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको बसका चालक फरार रहेको र ट्रकका चालक भने प्रहरी नियन्त्रण रहेको प्रहरीले बताएको छ ।