Live Streaming

उत्तरी धादिङका अधिकाँश बस्ती पहिरोको खतरामा

मनिष दुवाडी, धादिङ ।  बैशाख १२ गतेको भुकम्प र त्यसपछि लगातार आएको पराकम्पका कारण उत्तरी धादिङका अधिकाँश बस्तीहरु पहिरोको जोखिममा परेका छन् । भुकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैका उत्तरी धादिङका झार्लाङ लापा, सेर्तुङ, तिप्लिङ लगायतका गाविसका अधिकांश ठाउँहरुमा माथिबाटको पहिरो खस्ने र बस्तीभन्दा तल पनि पहिरो जाने गरेपछि बस्ती नै भासिने जोखिम बढेको छ । 

भुकम्प पछि आएको पहिरोका कारण बाटो भत्किएपछि उत्तरीक्षेत्रका अन्य गाउवाट लापाको कपुरगाउँ एक्लिएको छ । गाउँको चारैतिर जमिन चिरा चिरा परेको र गाउँ पुग्ने एकमात्र बाटो पनि पहिरोले भत्काएपछि कपुर गाउँ अज्ञात टापु जस्तै बनेको छ ।
बैशाख १२ को विनाशकारी भुकम्प पछि आफूहरु आनन्दले एक रात पनि सुत्न नपाएको कपुरगाउँ लामा टोलकी कल्पना गुरुङले बताउनुभयो । भुकम्पपछि कपुरगाउँमा रहेको सवै ६५ घर भत्किएका छन भने ४ ज नाले ज्यान गुमाएका छन । यस्तै अहिलेसम्म सडक सञ्जालले समेत नछोएका उत्तरी धादिङका री गाउँ विकास समितिका कुताल, चोके, किचेत झार्लाङ गाउँ विकास समितको वडा नं १ २ र ३ तिप्लिङको ठुलो गाउँ, बोराङ लगायतका ठुला पहाडमुनी रहेका बस्तीहरु पहिरोको जोखिममा रहेका छन ।
विनाशकारी भुकम्पका कारण धादिङको उत्तरी क्षेत्रमा मात्रै २ सय ४१ जनाले ज्यान गुमाएका छन भने १ सय ५० भन्दा बढी घाइते भएका छन । 
यसैविच उत्तरीक्षेत्रका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेकोले भुगोलविद्हरु द्धारा विशेष अध्ययन र अनुसन्धान गराएर मात्र पुर्ननिर्माणको काम थाल्नुपर्ने जिल्लाको स्थलगत अनुगमनमा लापा गाविस पुगेका संसदीय अनुगमन समितीका पदाधिकारीहरुले बताएका छन् । आइवार जिल्लाको उत्तरी क्षेत्रको अनुगमनमा पुगेको टोप बहादुर रायमाझीको नेतृत्वको संसदीय टोली समक्ष स्थानियहरुले समेत विशेष अनुसन्धान र अध्ययन पश्चात मात्रै उत्तरी क्षेत्रमा पुर्ननिर्माणको काम थाल्न अनुरोध गरेका हुन ।