Live Streaming

विपद व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, ४ जेठ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा अनुगमनका लागि संसदले गठन गरेको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विषेश समितिको बैठक आज पनि बस्दैछ । बैठक अपरान्ह ४ बजेपछि बस्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो । समितिले अनुगनका क्रममा देखिएका कमीकमजोरी पहिल्याउदै आजको बैठकले सरकारलाई आवश्यक निर्देशन दिनेछ ।

यसअघि हिजो बसेको बैठकमा नेपाली सेनाका प्रतिनिधिले राहत तथा उद्धारमा भईरहेको कार्य विवरणबारे समितिलाई जानकारी गराएका थिए । सो क्रममा सेनाले अन्तराष्ट्रिय बिमानस्थलमा अन्तराष्ट्रिय क्षेत्रबाट आएको राहत सामाग्री, बिभिन्न जिल्लामा भईरहेको राहत वितरण लगायतबारे समितिलाई बिफ्रिङ्ग गरेको थियो । बिमानस्थलमा आएका राहत सामाग्री गृहमन्त्रालयका प्रतिनिधिको रोहवरमा जिल्लाका प्रमुख जिल्ला अधिकारीको माग अनुसार वितरण गर्ने गरेको जानकारी सेनाले दिएको थियो । भारतबाट आएका पुराना कपडा, गाईको चित्र भएका सयौं प्याकेट ड्राई मिट, टेन्ट, त्रिपाल लगायत समाग्री बिमानस्थलमै थुप्रिएकाले त्यसको प्रयोग अथवा फिर्ता सम्बन्धमा समेत आजको बैठकले बिशेष निर्देशन दिने छ ।