अस्थायी बसोबासका लागि ठाउँको खोजी भईरहेको छ : मन्त्री रिजाल
काठमाडौं, ४ जेठ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भुकम्पबाट घरबारबिहीन भएहरुलाई अस्थायी बसोबासको ब्यवस्था मिलाउन सरकारले छलफल अघि बढाएको बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाँले सम्भावित क्षेत्रहरुको पहिचान गरी चाडै निश्कर्षमा पुगिने उल्लेख गर्नुभयो । तेस्रो मुलुक गएपछि खाली रहेका पूर्वका भुटानी शरणार्थी शिविर वा पूर्वमाओवादी सेनाका अस्थायी शिविरलाई प्रयोगमा ल्याउन सकिने भएपनि पीडित जनताको रायसुझाव पछिमात्र निश्कर्षमा पुग्ने मन्त्री रिजालको भनाई थियो ।
महाविपत्तिबाट विस्थापित ६ लाख जनतालाई स्थायी बसोबास गराउने कुरा जोखिमपूर्ण भएको भन्दै उहाँले बिपत्तिबाट परेको मनोबैज्ञानिक असरलाई चिर्दै सबै एक भएर राष्ट्र निर्माणमा जुट्नु पर्नेमा जोड दिनुभयो । अस्थायी घरटहरा निर्माणका लागि करिब १२ लाख जस्तापाता आवश्यक भएकाले दुई तिहाइभन्दा बढी जस्तापाता आयात गर्न सरकारले भन्सार छुटको ब्यवस्था गर्ने मन्त्री रिजालको भनाई थियो ।
फरक प्रशंगमा मन्त्री रिजालले वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिएर अघि बढ्न प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताउनुभएको छ । मन्त्री रिजालले सहमतीय सरकार गठनबारे दलहरुको चासोलाई बर्तमान सरकारले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । मन्त्री रिजालले विपत्तिको समयमा आशंका र दोष लगाएर पीडितलाई फाइदा नहुने भएकाले राज्य र सरकार बारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।