Live Streaming

पराकम्पन आउने क्रम घट्दो \ जनजीवन सामान्य बन्दै

दीपक धिताल, काठमाडौं ।
भूकम्पको पराकम्पन कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ । वैशाक १२ गतेको महाभूकम्पपछिको १०-१२ दिनपछि जनजीवन सामान्य हुँदै गर्दा फेरि २९ गते अर्को ठूलो भूकम्प आएपछि थप त्रास उत्पन्न भएको थियो । तर हिजोदेखि पराकम्पहरु पनि कम हुँदै गएपछि उपत्यकामा बजार, पसलहरु खुलेका छन भने यातायातको चाप पनि बढ्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन ।  

यसैबीच भूकम्प मापन केन्द्रका अनुसार १३ घण्टाको अन्तरमा दुई पटकमात्र भुकम्पको पराकम्पन मापन भएको छ । हिजो बेलुका ८ बजेर ४० मिनेटमा ४ दशमलब ४ म्याग्निच्युटको पराकम्पन मापन भएको थियो भने आज बिहान ९ बजेर ११ मिनेटमा ४ दशलमब २ म्याग्निच्युटको पराकम्पन मापन भएको छ । दुवै पराकम्पन दोलखालाई केन्द्रबिन्दु बनाएर गएको थियो ।

यसैबीच बिनासकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ५ सय ८३ पुगेको छ  । प्रहरीले गराएको पछिल्लो जानकारी अनुसार बैसाख २९ गते आएको भूकम्पमा परी १ सय ४१ जनाको मृत्यु भएको छ । त्यसैगरी ३ हजार १ सय ५९ जना घाइते भएका छन् । बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी ८ हजार ४ सय ४२ जनाको ज्यान गएको छ भने १७ हजार ८ सय ८६ घाइते भएका छन् ।