भूकम्पले ऐतिहासिक तिजी पर्व खल्लो
गोपाल छन्त्याल, म्याग्दी । बिनाशकारी भूकम्पका कारण उपल्लो मुस्ताङीको ऐतिहासिक तिजी पर्व खल्लो भएको छ । जेठ १ देखि ३ गतेसम्म लोमान्थाङ दरबारको प्राङंगणमा सञ्चालित पर्वमा पूर्वराजपरिवारका सदस्यको सहभागिता नरहनु र विदेशी पर्यटकको संख्या एकदमै न्यून रहेपछि पर्व खल्लो बनेको हो । तिजी पर्वको दोश्रो दिन उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले मुस्ताङी राजा र राजपरिवारका सदस्यसंग आफ्ना समस्या राख्ने र उनीहरुसंगै रमाईलो गर्ने परम्परा छ ।
तर, वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण लोमान्थाङ दरबार चर्किएपछि काठमाडौँमा बस्दै आएका पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्ट र अन्य सदस्यहरु पर्वमा आउन नसकेको लोमान्थाङका स्थानीय इन्द्रधारा विष्टले जानकारी दिए ।
‘पूर्व महारानी र राजकुमार अशोकलाई पर्वमा आउने धेरै इच्छा थियो, तर दरबार पनि चर्किएर बस्न नहुने भएको र बुबा पनि विरामी भएका कारण उहाँहरु आउनुभएन्, दरबार नजिक रहेर काम गरेका विष्टले भने, ‘राजपरिवारका कुनै सदस्य नआउँदा स्थानीय निराश बन्नु स्वभाविक हो ।’ विनाशकारी भूकम्पले छसय बर्ष पुरानो लोमान्थाङ दरबारको उत्तर, पूर्व र दक्षिण भाग चर्किएर जुनसुकै बेला भत्कने खतरा बढेको छ । जीर्ण दरबारको अवलोकनका लागि पनि पूर्वराजपरिवारका सदस्यहरु आउने आशमा यसबर्ष पर्वमा अघिल्लो बर्षहरुमा भन्दा धेरै सर्वसाधारण आएका थिए । १५ औँ शताब्दी देखि गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजी पर्व तिब्बती महिनाको असाढकृष्ण एकादशी देखि असाढकृष्ण चर्तुदशीसम्म मनाईने परम्परा छ ।
पर्वको पहिलो दिन विशेष पुजापाठ हुन्छ भने अन्य दुई दिन राजासंग भेटघाट र पूख्र्यौली नृत्यहरु प्रर्दशन गरिन्छ ।
पर्वमा देखाईने लामा र पूख्र्यौली नृत्य हेर्न विदेशी पर्यटकहरु पुग्ने गरेपनि यसबर्ष भने एकदमै न्यून सँख्यामा पर्यटक पुगेको विष्टले जानकारी दिए । ‘स्थानीयको ठुलो सहभागिता भएपनि भुकम्पको त्रासका कारण पर्यटकहरु आउन सकेन्, हाम्रो सँस्कार देखाएर हामीले राम्रो आम्दानी पनि गरेका थियौँ, विष्टले भने, ‘अहिले पर्यटकहरु नआउँदा आर्थिक रुपमा घाटा भएको छ ।’ अघिल्ला बर्षहरुमा पर्वकै लागि भनेर बेलायत, अमेरिका, जापान, फ्रान्स लगायतका देशका थुप्रै पर्यटकहरु आउने भएपनि यसपटक १५÷२० जना मात्रै पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
‘स्थानीयको सहभागिताको हिसाबले ऐतिहासिक भयो, तर पूर्वराजपरिवार र पर्यटकहरु नआउँदा केहि खल्लो भने भयो, प्रमुख शेरचनले भने । पर्वमा देखाईने लामा र पूख्र्यौली नृत्य अवलोकन गर्न लोमान्थाङ, छुसाङ, चर्राङ, सुर्खाङ, छोण्हुप, घमी लगायत अन्य क्षेत्रका गरि सात हजार पुगेको बताईएको छ । १५ औँ शताब्दी देखि मनाईदै आएको यो पर्व वि.स १९९२ देखि १९९४ सम्म दुई बर्ष विभिन्न कारणले रोकिएको इतिहास छ ।