Live Streaming

​राहतमा अनियमितता भए तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, ३ जेठ ।  प्रधानमन्त्री सुशील कोइरालाले राहतका लागि आएका सामाग्रीमा अनियमितता भएको गुनासो आएको भन्दै त्यस्तो पाइए तत्काल कारवाही गर्न निर्देशन दिनुभएको छ । विहान पालको ब्यवस्थापन गरिरहनुभएका शहरी विकास मन्त्री डा. नारायण खड्कासँगको भेटमा प्रधानमन्त्री कोइरालाले राहतका लागि आएका पालहरु गोदाममा थन्किएर बसेको र कतिपय स्थानमा व्यापारीहरुले अधिक मूल्य लिएर पालहरु बेचेको गुनासो आएकोले दोषीलाई कडा कारबाही गर्न निर्देशन दिनु भएको हो ।  

यसैबीच आज बिहान शहरी विकास मन्त्रालय अन्तरगतको अन्तराष्ट्रिय सम्मेलन केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैया प्रदान गरेको छ । सो सहयोग रकम शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै नगर विकास कोषका तर्फबाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख योगदान भएको छ । सो रकम सचिव कार्कीले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
बैशाखमा गएका भूकम्प र त्यस पछिका पराकम्पनबाट पीडित नेपालीहरुलाई राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शेर्पा संघ, अद्भूत प्रतिभा भएका बालक आदित्यको संरक्षणमा खोलिएको आदित्य संरक्षण प्रतिष्ठानले सहयोग रकम प्रदान गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शेर्र्पा संघका तर्फबाट पूर्व सभासद् जीप छिरिङ्ग लामा सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।
आजै अद्भूत क्षमताका बालक आदित्य दाहालको संरक्षणको लागि स्थापित आदित्य संरक्षण प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७ हजार रुपैया प्रदान गरेको छ । प्रतिष्ठानका तर्फबाट संरक्षक आदित्य दाहाल स्वयंले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।