अद्भूत बालकले भने, “हजूरका इच्छा पूरा हुनेछन्,पी.एम ज्यू !”
काठमाडौं, ३ जेठ । आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो । मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उहाँकी आमाले काखमा लिएर बस्नुभएको थियो । मानिसहरु खासखुस गर्दैथिए, आज अद्भूत बालक आदित्य दाहालले पनि भूकम्प पीडितको लागि कोषमा सहयोग गर्ने रे १
उद्धार कोषमा सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई भेट्न र सहयोग रकम ग्रहण गर्न प्रधानमन्त्री निवासको निलो बैठक कक्षमा प्रवेश गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्ने पालो पर्खनुभएका शेर्पा संघका प्रतिनिधिहरु र शहरी विकास मन्त्रालयका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
काखमा आदित्यलाई बोेकेर आमा अगाडि सर्नुभए पछि प्रधानमन्त्रीलाई अद्भूत बालकका पिता शेषराज दाहालले उहाँको प्रतिभाको बारेमा बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो,“ मैले थाहा पाएको थिए । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिन ।”
त्यस पछि उहाँका पिताले आदित्यले विगत केही समययता प्रकट गर्नुभएका विचार सुनाउनु भयो । र प्रधानमन्त्रीसंग जिज्ञासा राख्नु भयो, हजूरलाई पनि केही जान्न इच्छा भए उहाँले केही क्षणमा बताइदिनु हुनेछ ।
बोल्न नसक्ने साढे चार बर्षका बालक आदित्यका बारेमा त्यस अगाडि नै खासखुस चलेको थियो,“ मुख बोल्नुहुन्न तर यो उमेरमा आफ्नो बारेमा जानकारी खोज्ने व्यक्तिलाई उनीहरुकै भाषा लेखेर बताइदिनु हुन्छ ।”
त्यसपछि प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस भन्ने इच्छा रहेको बताउनुभयो । उहाँले सबै नेपाली एक ढिक्का भएर मिलेर जाने र छिटो छिटो संविधान निर्माण गर्न सकियोस् भन्ने चाहना रहेको बताउनु भयो । त्यसपछि चुनावमा जाने उद्देश्य सहित आफू इमान्दारी पूर्वक लागिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीको इच्छा सुने पछि उहाँकी ममतामयी माताले आदित्यलाई काखमा राखेर उहाँले लेख्ने गरेको डायरी समाइ दिनुभयो र एउटा कलम थमाइदिनुभयो । त्यस पछि उहाँले बाँया हातले डायरीको पानामा लेख्नु भयो ।
“ नआत्तिनू ।
यो अरिष्ट केही समयमा टर्नेछ ।
अनि मुलुकले काँचुली फेर्नेछ ।
हजूरका इच्छा पूरा हुने छ , पीएमज्यू ।”