मदन–आश्रित स्मृति दिवस \ २२ बर्षसम्म पनि रहस्यमय
कृष्ण कट्टेल, काठमाडौं ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २२ बर्ष पुरा भएको छ । नेताद्वयको निधन भएको २२ बर्ष बितिसक्दा समेत घटनाबारे सत्यतथ्य भने सार्वजनीक हुन सकेको छैन । दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी चालक अमर लामाको समेत केही बर्ष अघि हत्या भएपछि दासढुङ्गा हत्याले चिनिने सो घटना रहस्यको गर्भमै छोपिदै आएको छ ।
स्मृति दिवसमा एमालेले मुलुकभर बिशेष कार्यक्रम आयोजना गर्ने गरेपनि बिनाशकारी भुकम्पका कारण मुलुक दुःखमा रहेको भन्दै एमालेले सार्वजनीक कार्यक्रमको भने आयोजना गरेको छैन । यद्यपी पार्टी केन्द्रिय कार्यालयमा भने बिहान एमालेले विशेष कार्यक्रम गरेको छ ।
वि.सं. २०५० साल जेठ ३ गते पोखरामा पार्टीको कास्की जिल्ला अधिबेशन सकेर अखिल नेपाल महिला संघको चितवनमा आयोजना हुने भेलामा सहभागी हुन जादै गर्दा भण्डारी र आश्रित चढेको जीप दासढुङ्गामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा दुर्घटनामा बाचेपनि नेताद्धयको भने तत्कालै निधन भएको थियो । सोही दिनको सम्झनामा एमालेले प्रत्येक बर्ष जेठ ३ गतेलाई मदन–आश्रित दिवस मनाउदै आएको हो ।