Live Streaming

​मेरा दयालु घरभेटी, कोठाभाडा मिनाहा

दीपक धिताल / जेठ

भुकम्पले गाउँको घर क्षतविक्षत भएपनि रोजगारीका शिलशिलामा काठमाडौंमा रहेको म भग्नावशेषमा पुरिएको दुई मुरी धान निकाल्न समेत काभ्रे जान पाएको छैन । पछाडि 'कर्मी' शब्द जोडिएको जागिरको कार्यालय समय हुन्न भन्नुहुन्थ्यो तेजेन्द्र   काफ्लेले, त्यस्तै भयो ।

महाभुकम्पमा आफ्नो कार्यालय झन ब्यस्त हुने भएपछि घरबारबिहिन भएपनि स्रोतालाई सुसुचित गर्न तल्लिन छु । मेरो घरमात्र हैन कर्मथलो राजधानीमा आकाश नै छोउला जस्तो गरेर बनाईएका घर अनि खुट्टा अट्ने गरीमात्र रोपिएका अधिकांश टहराहरु समेत बस्न अयोग्य छन् । म भाडामा बसेको गोल्फुटारको घर भने बस्न योग्य छ । कतिपयलाई त दोहोरो पीडा छ, गाउँको घर पनि छैन, शहरको कोठा पनि क्षतबिक्षत, यो पीडाबाट भने म मुक्त छु तर बर्षालाग्न लाग्दा समेत घामपानीमात्र छल्ने भएपनि घर, गाउँमा बनाउन पाए दुई कोरी नाघेका बाआमाप्रति छोराको कर्तब्य पुरा हुने थियो । 

भुकम्प र त्यसले पु¥याएको मन सधै छटपाएका बेला हिजो साँझ भने गोल्फुटारमा ठूलो मनहृदय भएका मेरा घरभेटीले मलाई राहत दिएका छन, घरभाडा छुट दिएर । हुन त मेरो पेसा, क भनेर उच्चारण गर्दा करोडौंले एकै पटक सुन्ने हो । मेरो जिम्मेवारपूर्ण र सम्वेदनशील पेसाको सम्मान गर्दै होस अथवा बैशाख १२ गते पछि मैले गरेको कामको प्रशंसा गर्दै किन नहोस, घरभेटी दाजु उमेश केशर पण्डित र भाउजु सम्झना खड्काले आजसम्म कुनै दिन भाडा माग्नु भएको छैन । ढिलोचाँडो म आवद्ध एकल कार्यालयले दिने पारिश्रमिक आएपछि हात्तीको नक्साङ्कन भएका २–४ वटा नोट उहाँको हातमा राखिदिदा कहिल्यै, किन ढिला पनि भन्नु भएको छैन । जेठ लाग्यो तर चैत्र महिनाको भाडा नै तिर्न बाँकी छ ।

घर भत्किएपछि बचेखुसेको रकम पनि पाल किन्न र भग्नावशेष हटाउनमै खर्चिएपछि, नभएरै हो भन्ने बुझ्नु भएको छ होला सायद, भुकम्प पीडित भन्दै बैशाख महिनाको भाडा मिनाहा गरिदिनुभयो । उहाँको यो राहत घरबारबिहिन भएर दुरदराजमा रहेका नेपालीले पाल पाए भन्दा कम पक्कै छैन । म त राष्ट्रको चौथो अंग, मैलेजति आर्जन नगर्ने पनि काठमाडौंको यो खाल्डोमा लाखौं छन् होला, मेरो आग्रह ती घरभेटीलाई, जसले आफन्त गुमाएका छन, जसको घर गाउँमा भत्किएको छ, जो भुकम्पमा परी घाईते छन् उनीहरुलाई घरभाडा मात्र मिनाहा गरिदिनुभयो भने पुण्य प्राप्ती हुनेछ ।