अमेरिकन हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सुवास योञ्जन, दोलखा ।
भुकम्प प्रभावितहरुको उद्धार तथा राहत कार्यका लागि प्रयोगमा रहेको अमेरिकी हेलिकोप्टर दोलखाको कालिञ्चोक डाडाँको उत्तरी क्षेत्र घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । गत मंगलवारबाट सम्पर्कमा नरहेको हेलिकप्टर बिहान एघार हजार फिट उचाइको कालिञ्चोक डाँडाको जंगल क्षेत्रमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको हो ।
स्थानियबासीले हेलिकप्टरका टुक्रा र केही शवहरु देखेको खवर गरेपछि सो क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो । नेपाली सेनाका एक उच्चअधिकारीले हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्दै उद्धारका लागि टोली परिचालन भईसकेको जानकारी दिए । हेलिकप्टरका टुक्रा र शवहरु संकलन गरी स्थानियबासी र नेपाली सेना केही अधिकारी अहिलेपनि सोही स्थानमा छन् ।
नेपाली सेनाको आरएएन ४७ हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरको भग्नावशेष पत्ता लगाएको हो । सैनिक अधिकारीका अनुसार, हवाई मार्गबाट उद्धार गर्न कठिन भएकाले स्थल मार्ग हुदै घटनास्थलसम्म पुग्न केही समय लाग्ने जानकारी दिए ।
गत मंगलवारबाट बेपत्ता अमेरिकन सो हेलिकप्टरमा ६ अमेरिकी सैनिक र २ जना नेपाली सैनिक सवार थिए ।