सांसदहरु गाउँ लागे
काठमाडौं, १ जेठ ।
भुकम्प पीडितहरुका लागि राहत, पुर्ननिर्माण र पुनस्थापनाबारे अनुगमन गर्न सांसदहरुको टोली बिभिन्न प्रभावित क्षेत्र लागेको छ । ब्यवस्थापिका संसदले २७ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै अनुगमनका लागि प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेसँगै सांस्दहरु तोकिएको क्षेत्रमा खटिएका हुन् । संसद सचिवालयका कर्मचारी सहित प्रभावित क्षेत्रमा खटिने टोलीमा ४–४ जना सांसदहरु हुनेछन् ।
सभामुख सुवास नेम्बाङ्गको नेतृत्वमा रहेको राष्ट्रिय बिपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन बिशेष समितिको हिजो बसेको बैठकले बढी प्रभावित बिभिन्न १४ जिल्लाका सांसदहरुलाई गाउँ फर्कन निर्देशन दिएको थियो । गाउँ पुगेका सांसदहरुले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा उद्धार, राहत, पुनस्थापना लगायत काममा सहयोग गर्नेछन् । १४ जिल्लाका लागि खटिने ५६ जना सभासद्ले ५ दिनभित्र स्थलगत अवलोकन गरी राहत बितरणको अवस्थाबारे आफ्नो प्रतिवेदन संसद सचिवालयमा बुझाउनेछन् ।
बाँकी सांसदहरुलाई समेत प्रभावित जिल्लाहरुमा भईरहेको उद्धार, राहत, पुर्ननिर्माण तथा पुनस्थापनाबारे अनुगमन गर्न निर्देशन दिदै सभामुख नेम्बाङ्गले बाटोको म्याद राखेर ५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिईसक्नु भएको छ ।