Live Streaming

अनुगमन समितिको बैठक बस्दै

काठमाडौं, ३१ बैशाख ।

व्यवस्थापिका संसदले पारित गरेको साझा संकल्प कार्यान्वयनका विषयमा आजदेखि छलफल सुरु हुँदैछ । संसदले गठन गरेको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज १ बजेका लागि बोलाइएको छ ।

बैठकबाट नै समितिको कामकारवाही सुरु हुने समिति सभापति एबं सभामुख सुवास नेम्वाङले जानकारी दिनुभयो । बैठकमा कार्यान्वयनको प्रक्रिया, त्यसका लागि बनाउने संयन्त्र लगायतका विषयमा छलफल हुनेछ । राष्ट्रिय योजना आयोगले बनाइरहेको पुनः निर्माण र विस्थापितहरुको पुनःस्थापना लगायतका विषयमा पनि छलफल हुनेछ । ७३ सदस्यीय विशेष समितिमा दलहरुको आकारका अनुपातमा सदस्य चयन गरिएको छ । यसले भूकम्पपछिको राहत, पुनःस्थापना र पुनः निर्माणमा सरकारलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर अनुगमन गर्ने छ ।

यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञासहित गत शनिबार सो प्रस्ताव प्रस्तुत गरेका थिए । भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशील एवम् प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्ययोजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने, भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, भूकम्पमा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपागंता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने लगायतका विषयहरु साझा संकल्पमा समेटिएका छन् ।

संकल्प प्रस्ताव पारित गर्दै संसद्को विशेष अधिवेशन पनि अन्त्य भएको छ । सभामुख सुवास नेम्वाङले सबै सभासद्लाई राहत, पुनःस्थापना र पुनःनिर्माणमा जुट्न निर्देशन दिनुभएको छ ।