पराकम्पन रोकिएन
काठमाडौं, ३१ बैशाख ।
बिनासकारी भुकम्पपछि पराकम्पन आउने क्रम केही कमी भए पनि रोकिएको छैन । गएराती दोलखालाई केन्द्र बिन्दु बनाएर तिन वटा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राती १२ बजेर १६ मिनेट जाँंदा ४ दशमलव ३ रेक्टर स्केलको, ३ बजेर १३ मिनेट जाँंदा ४ दशमलव १ रेक्टर स्केलको र ३ बजेर २३ मिनेट जाँंदा ५ रेक्टर स्केलेको भुकम्प गएका हुन् ।
विज्ञहरुले पराकम्पनका क्रमलाई स्वभाविक र सहज अवस्था बन्दै गरेको रुपमा बुझ्नु पर्ने बताएका छन् । भकम्पविद्हरुले पछिल्लो ठूलो भकम्पपछि ठूला भुकम्पको सम्भावना थप न्यून भएको बताएका छन् ।
यसैबीच बैशाख १२ गतेको भुकम्पले चर्केको र गत मंगलबारको अर्को धक्काले थप क्षती पुगेको राजधानी कलंकीको एक सात तले घर आज बिहान भत्किएको छ । शिवनगरस्थित आनन्दबुद्ध मानन्धरको सो घरमा भुकम्प पश्चात कोही नरहेको तथा नजिकै पनि स्थानीयबासी कोही नबसेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।