प्रधानमन्त्री कार्यालय सार्ने तयारी
काठमाडौं, ३१ बैशाख ।
भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्ने तयारी भइरहेको छ । सिंहदरवारभित्रकै कुनै भवनमा कार्यालय सार्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।
खतराको सूचीमा रहेका ती दुई कार्यालय सार्न आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल र सम्बन्धित निकायका अधिकारीबीच परामर्श भएको थियो । अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवन सबैभन्दा उपयुक्त हुने सुझाव आएको बुझिएपनि ठोस निर्णय भइसकेको छैन ।
त्यसबाहेक नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनसँगैको लगानी बोर्डको कार्यालय भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलगायत विभिन्न भवनका बारेमा पनि सुझाव आएको छ ।