नेपालमा उद्धार तीव्र पार्न भारतीय प्रधानमन्त्री मोदीको विशेष निर्देशन
काठमाडौं, ३० बैशाख ।
नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धार तीव्र पार्न विशेष निर्देशन दिनुभएको छ ।
दोस्रो ठूलो भूकम्प गएपछि उनले नेपालको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय बैठक बोलाउनु भएको थियो । सो बैठकमा मोदीले भूकम्पले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिएको भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जनाएको छ।
मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन दिनुभयो ।
नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् । परराष्ट्रका निमित्त सचिव शंकर बैरागीका अनुसार भूकम्प पीडितका लागि चीनको कुन्मिङबाट १० हजार थान त्रिपाल काठमाडौं आउने क्रममा छ भने भारत सरकारले पठाएको ७० हजार थान त्रिपाल कोलकात्ता हुँदै मंगलबार रक्सौल आइपुगेको छ ।