हारपछि पनि चेन्नई शीर्ष स्थानमा
बैशाख ३०, एजेन्सी ।
इण्डियन प्रिमियर लिग क्रिकेटमा आज किंग्स इलावेन पञ्जाव र रोयल च्यालेञ्जर्स बैङलोर बीच प्रतिस्पर्धा हुँनेछ । खेल मोहालीमा राती सवा ८ बजे सुरु हुने छ । ११ खेल खेलेको बैङलोर १३ अंकमा पाँचौ स्थानमा छ भने पञ्जाव चार अंकका साथ तालिकाको पुछारमा छ ।
यसअघि हिजो भएको खेलमा देल्लीले चेन्नेइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । राइपुरमा चेन्नेइले दिएको १ सय २० रनको लक्ष्य देल्लीले ४ विकेट गुमाई १६ ओभर ४ वलमा भेट्टाएको थियो । उसको जितमा २० बर्षे श्रीयस ईयरले नटआउट ७० रनको योगदान गरे । यसअघि टस जितेर ब्याटिङ्ग गरेको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो । फाफ डु प्लेसिसले २९ र महेन्द्र सिंह धोनीले २७ रन जोडे । जाहिर खानले आफ्नो स्पेलमा एक मेडन राख्दै ९ रन खर्चिएर २ विकेट लिए । एल्बी मोर्केलको नाममा २ विकेट रह्यो ।
पराजयपछि पनि चेन्नई १६ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । देल्ली भने १० अंकमा तालिकाको सातौं स्थानमा छ । योसँगै देल्ली र पञ्जावको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना सकिएको छ ।