Live Streaming

सन् २०११ पछि बार्सा च्याम्पियन्स लिगको फाईनलमा

बैशाख ३०, एजेन्सी ।
स्पेनी क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटवलको फाईनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रो लेगमा वायर्न म्युनिखसँग ३–२ ले पराजित भएपनि समग्रमा ५–३ को नतिजा निकाल्दै बार्सा उपाधि नजिक पुगेको हो । होम ग्राउण्डमा भएको पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।

गृहमैदान एलियान्ज एरिनामा भएको खेलको सातौं मिनेटमा मेदी बेनाटिआको गोलबाट म्युनिखले अग्रता लिएको थियो तर १५ औं मिनेटमा बार्साका लागि गोल गर्दै नेईमारले खेल बराबरीमा ल्याएका थिए । २९ औं मिनेटमा नेईमारले थप गोल गरेपछि बार्सा पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफमा आक्रामक रुपमा मैदान उत्रिएको म्युनिखका लागि ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र ७४ औं मिनेटमा थोमस मुलरले गोल गरे । दोस्रो लेगमा ३–२ ले विजयी भएपनि म्युनिखले फाईनलमा स्थान बनाउन भने सकेन । यद्यपी बार्सासँग लगातार ४ खेलमा पराजित भएको म्युनिखले पाँचौ खेलमा भने जित दर्ता गर्न सफल भयो । बार्सा भने सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटवलको फाईनलमा प्रवेश गरेको हो ।

सन् २०१४ र ०१५ मा मात्र लियोनेल मेसी, नेईमर र लुईस स्वराजले बार्साका लागि १ सय १४ गोल गरिसकेका छन् ।


दोस्रो सेमिफाईनल दोस्रो लेगमा आज राती रियल मड्रिड र युभेन्टसबीच प्रतिस्पर्धा हुने छ । पहिलो लेगमा रियल, युभेन्टससँग २–१ ले पराजित भएको थियो ।   
च्याम्पियन्स लिगको फाईनल खेल भने आगामी जुन ६ मा बर्लिनमा हुनेछ ।