विशिष्ट ब्यक्ति तथा पूर्व पदाधिकारीका लागि सुरक्षा तथा सुविधा सम्बन्धि कानून बन्दै
बिनु सुवेदी, काठमाडौं ।
विशिष्ट ब्यक्ति तथा पूर्व पदाधिकारीहरुका लागि सुरक्षा तथा सुविधा उपलब्ध गराउन सरकारले कानुन नै बनाउने भएको छ । कानुन निमार्णका लागि गृहमन्त्रालयले विशिष्ट ब्यक्ति तथा पूर्व पधादिकारीको सुरक्षा र सुविधा सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । अहिलेसम्म विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी बेग्लै कानुनी व्यवस्था नभएकाले मन्त्रीपरिषद्को निर्णयबाट उनीहरुलाई सुरक्षा र सुविधा दिँदै आइएको थियो ।
यो विधेयक ऐन बनेपछि केन्द्रीय, क्षेत्रिय र जिल्ला सुरक्षा समिति गरी तीनवटा छुट्टाछुट्टै समिति गठन गरिनेछ । विधेयक अनुसार विशिष्ट व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा र परिवारका अन्य सदस्यहरुले समेत सुरक्षा लाभ लिन पाउनेछन् । यस्तो सुरक्षा योजना अत्यन्तै गोप्य हुने प्रस्ताव विधेयकमा छ ।
यसैगरि पूर्व राष्ट्रपतिलाई आवास सुविधा दिने तथा पूर्व पदाधिकारीहरुलाई निजि सचिवालय कर्मचारी तथा सवारी साधन र इन्धन सुविधा दिने प्रस्ताव पनि बिधेयकमा छ । यस्तै पूर्व पदाधिकारीहरुले स्वदेशमा गरेको उपचार खर्च समेत सरकारले ब्योहोर्नेछ ।
विधेयकमा प्रस्ताव गरिएअनुसार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्षदेखि पुनराबेदन अदालतका मुख्य न्यायाधीश सम्मले विशिष्ट ब्यक्तिको सुविधा पाउनेछन । २०४६ सालयताका प्रधानमन्त्री, प्रधानन्याधीश र सभामुखले पनि पूर्व पदाधिकारीको सुविधा पाउनेछन् ।