Live Streaming

मनोपरामर्श र मनोरञ्जनमा केन्द्रीत हुन बिद्यालयलाई सरकारको निर्देशन

मनोज बानियाँ, काठमाडौं ।  
महाबिनासकारी भुकम्पपछि बन्द रहेका शैक्षिक संस्थाहरु जेठ १ गतेबाट खुल्ने भएपनि  शिक्षा मन्त्रालयले नियमीत पठनपाठन भन्दा वालबालिकालाई मनोपरामर्श र मनोरञ्जनमा ध्यान दिन विद्यालयहरुलाई निर्देशन दिएको छ । त्रसित बालबालिकाहरु सामान्य अवस्थामा फर्किएपछि र भूकम्पका कारण चर्किएका विद्यालय भवनको विकल्पको सुनिश्चित भएपछि मात्र नियमित पठनपाठन सुरु गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार विद्यालय भवनको अवस्थाको बारेमा इन्जिनियरहरुसँग परामर्श गरेर बस्न नमिल्ने भए चौर वा खुल्ला ठाउँमा बस्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । विद्यालय खुलेपछि बालबालिका आपसमा घुलमिल हुने र पढाइमा पनि केन्द्रीत हुनु पर्ने भएकाले त्रासको वातावरण हट्ने प्रबक्ता लम्सालको प्रतिक्रिया छ । विनासकारी महाभुकम्पका कारण मुलुकभरका ५ हजार एक सय ३१ सामुदायिक विद्यालयका भवन पूर्ण रुपमा भत्केका छन् भने १३ हजार भन्दा बढी कक्षा कोठामा क्षति पुगेको छ । शिक्षा मन्त्रालयले अस्थायी विद्यालय भवन निर्माण गर्न अर्थ मन्त्रालयसँंग एक अर्ब ६१ करोड रुपैया माग गरेको छ ।