Live Streaming

मोसो दलेर सामाजिक बहिष्कार गर्दा चार महिला पक्राउ


उदय जीएम, दाङ । दाङको देउखुरी उपत्यकाको सतवरिया– २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाहरुले कानुन हातमा लिएर कालोमोसो दली सामाजिक बहिष्कार गरेका छन् । एउटी महिलालाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न ६ जना महिलालाई प्रहरीले पहिचान गर्नुका साथै चारजनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


महिलालाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न सतवरिया– २ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई प्ररीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए  । उक्त काममा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार रहेका छन् ।  

बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिनुभयो ।   ती महिलालाई सोमवार दिउँसो महिलाहरुकै हुलले कपाल मुण्डन गर्नुका साथै कालोमोसो दली हातमा जुत्ताको माला लगाएर लखेटेको थियो । ती महिला भित्री वस्त्रमा मात्रै लेखेटिँदासमेत वनघुस्री गाउँ पूरै मुकदर्शक बनेको थियो । महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट व्यापक प्रयास भइरहँदा पनि सोमवार चौधरी थरकी ती महिलामाथि यस्तो अमानवीय व्यवहार गरिएको थियो ।
गाउँको निर्णय भन्दै चौधरी परिवारकी ती महिलालाई कानुन हातमा लिएर सामाजिक बहिष्कार गर्दा पनि त्यहाँ पुगेको प्रहरीले केही गर्न सकेको थिएन । गाउँका अगुवाहरुले पनि महिलामाथि भइरहेको अमानवीय दृश्य मुकदर्शक बनेर हेरिरहे तर त्यो कार्यलाई रोकेनन् ।
महिलालाई कालो मोसो दलेर गाउँ घुमाइएको केही समयपछि प्रहरी घटनास्थलमा त पुग्यो तर कालो मोसो दलेर सामाजिक बहिस्कार गरेको मुद्दालाई गाउँमै मिलाउछौं भनेपछि त्यहाँबाट प्रहरी फर्केको थियो । “प्रहरी त पुग्यो तर कसलाई पक्राउ गरेर ल्याउनु ? गाउँका सबै महिला जम्मा भएका रहेछन् ।

उनीहरुले समस्या गाउँमै समाधान गर्छौं भनेपछि टोली फर्किएको हो” वडा प्रहरी कार्यालय लमहीका प्रमुख शाहीले भने । उनका अनुसार घटना अलि गम्भीर प्रकृतिको लागेपछि पुनः प्रहरीको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न मुख्य ४ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
छिमेकी पुरुषसँग अनैतिक सम्वन्ध रहेको आरोप गाउँलेहरुले ती महिलामाथि पटकपटक लगाएका थिए । गाउँमा धेरैपटक छलफल भएर समाधान नभएपछिउक्त विवाद वडा प्रहरी कार्यालय लमहीसम्म पुगेको थियो । प्रहरीले “आइन्दा यस्ता क्रियाकलाप नगर्ने”शर्तमा सम्झाई बुझाई पठाएको थियो ।

प्रहरीले सम्झाई बुझाई पठाए पनि समस्या पुनः दोहरिएको गाउँलेहरुको आरोप छ । महिलासँगअनैतिक सम्बन्ध रहेको भनिएका ब्यक्तिले पनि सामाजिक हिंसा सहन नसकेर आत्महत्या गरिसकेको बताइएको छ ।