चट्याङ्ग लागेर ३ जनाको मृत्यु
जर्नादन घिमिरे, गुल्मी ।
चट्याङ्ग लागेर गुल्मीमा दुई महिलाको मृत्यु भएको छ । अन्य दुई जना गंभिर घाईते भएका छन् । आज बिहान परेको चट्याङ्गले मुसिकोट ६ बगैचाकी ४३ वर्षीया सुमित्रा खराल र पौंदिअमराई गाविस ८ स्थित च्यानडाँडाका ४८ वर्षीय धनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुसिकोट ६ की ४२ वर्षीया राधिका खराल र नयाँगाउँ २ की ५५ वर्षीया पवित्रा जिसीको पाल्पास्थित लुम्विनि मेडीकल कलेजमा उपचार भईरहेको छ ।
यता, बाराको सिम्रौनगढमा चटयाङ लागेर सिम्रौनगढ नगरपालिका निवासी रामबहादुर मुखियाकी ११ वर्षिया छोरी लालती कुमारीको मृत्यु भएको हो । उनका ६ बर्षिय छोरा सरोज कुमार गंभिर घाईते भएका छन् ।
यसैबीच, आज परेको असिना पानीले गुल्मीमा एक करोड भन्दा वढी मूल्यको तरकारी तथा फलफुलवालीमा क्षति पु¥याएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, असिना पानीले सुन्तला र तरकारीको पकेट क्षेत्र मानिएको अर्खले, सिमिचौर, नयाँगाउँ, हाडहाडे, पिपलधारा, दिगाम लगायत गाविसमा वढी क्षती पुगेको हो । असिनाका कारण भर्खर फुल्दै गरेको सुन्तला लगायतका फलफुल तथा वन्दा, सिमी, करेला, बोडी, गोलभेडा लगायत तरकाली वालीमा क्षती पुगेको हो । जिल्लामा ४० हेक्टर भन्दा वढी क्षेत्रफलमा तरकारी र २० हेक्टर भन्दा वढी क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।