Live Streaming

चेन्नई फेरि शीर्ष स्थानमा उक्लियो \ भिलियर्स र कोहलीको किर्तिमानी साझेदारी

बैशाख २८, एजेन्सी ।
चेन्नई सुपरकिङ्गस्, इण्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै चेन्नई १६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान भने १४ अंकमा तालिकाको तेस्रो स्थानमा कायमै छ ।

चिदम्बरम स्टेडियममा १ सय ५८ रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन मात्र जोड्न सक्यो । शेन वाट्सनले २८, सन्जु सामसनले २६ र अजिन्क्या रहाणेले २३ रन जोडे । रबिन्द्र जडेजाले आफ्नो स्पेलमा ११ रन खर्चेर ४ विकेट लिएपछि राजस्थान  हार ब्यहोर्न बाध्य भयो । मोहीत शर्माले ३ र ड्वेन ब्राभोले २ विकेट लिए । प्ले अफमा स्थान बनाउन राजस्थानलाई लिगको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई हराउनै पर्ने दवाव रहेको छ ।

यसअघि ब्रेन्डन म्याकलमले ८१ रनको महत्वपूर्ण पारी खेलेपछि टस जितेर ब्याटिङ्ग गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ५७ रनको मध्ययम योगफल तयार पारेको थियो । १५ रन जोड्दा २ विकेट गुमाएकोस्थिति सम्हाल्दै म्याकलम र फाफ डुप्लेसिसले तेस्रो विकेटका लागि १ सय १ रनको साझेदारी गरे । प्लेसिसले २९ रन जोडे ।

हिजै भएको अर्को खेलमा एबीडी भिलियर्स र बिराट कोहलीले आईपिएलमा सर्वाधिक साझेदारीको किर्तिमान बनाएपछि रोयल च्यालेञ्जर्स बैंग्लोरले मुम्बई इण्डियन्सलाई ३९ रनले पराजित ग¥यो । २ सय ३६ उच्च लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ९६ रनमात्र जोड्न सक्यो । लिन्डे सिमोन्सले नटआउट ६८ र किरोन पोलार्डले ४९ रन जोडेपनि अन्य ब्याट्सम्यान नचल्ना मुम्बई पराजित हुन पुग्यो ।
भिलियर्स र कोहलीले दोस्रो विकेटका लागि किर्तिमानी २ सय १५ रनको साझेदारी गरेपछि टस जितेर व्याटिङ गरेको बैंङ्लोरले निर्धारित ओभरमा एक विकेट गुमाई २ सय ३५ रनको उच्च योगफल तयार पारेको थियो । ५९ वलको सामना गरेका भिलियर्सले १९ चौका र ४ छक्काको मद्दतमा नटआउट १ सय ३३ रनको योगदान गरे भने कोहली ८२ रनमा अविजित रहे । जितपछि बैंङ्लोर १३ अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हारपछि मुम्बई १२ अंकमा छैठौं स्थानमा झरेको छ ।


लिगमा आज सनराइजर्स हैदरावाद र किंग्स इलावेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ ।