हत्याराहरुले नै सुराकी दिएपछि भेटिदैछ मानव कंकालहरु
मनोहरकुमार, राजविराज ।
सुनसरीको इनरुवामा एकै परिवारका तीन सदस्यको कंकाल फेला परेको करिव तीन महिनामा सप्तरीको जण्डौल ८ मा आइतबार एक महिलाको मानव कंकाल फेला परेको छ । ०७० मङ्सिरको अन्तिम सातादेखि हराएकी जण्डौल ६ की दुलारीदेवी साहको कंकाल उत्खनन गरी फेला पारिएको प्रहरीले जनाएको छ ।
हत्या, बलात्कारको घटनाहरुमा संलग्न आरोपितहरुको समूह आपसमा विभाजित भएपछि उनीहरुबाटै प्रहरीले पाएको सुराकीका आधारमा उत्खनन गर्दा मानव कंकालहरु फेला पर्न थालेको हो । सुराकीको कथनअनुसार कंकालको हातमा घडी, चाँदी र काँचका राता चुरा, खुट्टामा मोजा, कपालमा चिम्टी भेटिएकोले दुलारीदेवीकै कंकाल रहेको आधार बलियो भएको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले बताए । प्रहरी उपरिक्षक कर्माचार्यका अनुसार कंकालको पहिचान पुष्टि गर्न डिएनएलगायतको परिक्षण गरिनेछ । डिएनए परिक्षणका लागि उक्त कंकाल धरान पठाइने उनले जनाए ।
जण्डौल गाविस–८ मा करिब अढाई वर्ष अघि भएको भट्टराई दम्पति हत्याको आरोपमा जिल्ला अदालतले साहलाई दुई वर्ष कैदको फैसला गरेको थियो । ०६९ पुस १६ गते राति ३६ वर्षीय डम्बरप्रसाद भट्टराई र निजकी पत्नी ३१ वर्षीया कौशिला भट्टराईको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले ०७१ जेठ २८ गते साहलाई दुई वर्ष कैद सजाय गर्नुका साथै उनका पति धिरेन्द्र साह र प्रेमी हरीहरपुर गाविस–६ घर भई बकधुवा गाविस–७ बस्ने रामचलितर यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । धिरेन्द्रसँग विवाह गर्नु अघि सकरपुरा ९ माइत भएकी दुलारीदेवीको डिमन ४ मा विवाह भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले ०६९ पुस २८ गते हत्याका आरोपित यादवलाई गिरफ्तार गरेकोमा तत्कालिन जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलाशले ०६९ माघ २६ गतेदेखि पुर्पक्षका लागि थुना पठाएको थियो । फरार आरोपित धिरेन्द्र साह भने तत्कालिन जिल्ला न्यायाधीश इश्वरराज आचार्यको इजलाशले ०७० जेठ ६ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । आरोपित दुलारीदेबीलाई तत्कालिन न्यायाधीश आचार्यको इजलाशले ०६९ फागुन ३० गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएकोमा पुनरावेदन अदालतका तत्कालिन मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त आदेशले ०७० जेठ २३ गते साधारण तारेखमा रिहा गरेको थियो । दुलारीदेबीले जिल्ला अदालतबाट ०७० मङ्सिर २० गतेसम्म तारेख लिएको देखिन्छ, त्यसपछि उनी सम्पर्कविहीन रहेकी थिइन् ।
जंगल छेउमा रहेको बकधुवा गाविस–७ स्थित ब्रह्मनारायणथान मन्दिर नजिकै झाडीमा ज्यान मार्ने धम्कि दिई दुलारीलाई बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले यादवलाई ०६९ साउन १७ गते पक्राउ गरेको थियो । ०६८ सालमा पनि छिमेकीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमाओवादी कार्यकर्ता यादव उ बेला उम्किएका थिए । पछि एमाओवादीले उनलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको थियो । बलात्कार मुद्दामा दुलारीदेवीका तर्फबाट साक्षी रहेका डम्बरप्रसाद भट्टराई दम्पतिको हत्यामा यादवसँगै दुर्भाग्यवश बलात्कारपीडित भनिएकी दुलारीदेवी र उनका श्रीमान धिरेन्द्र साहको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दुलारीदेवीले अदालतमा रामचलितरविरुद्ध जबरजस्ती करणीको मुद्दा दिएपनि पछि आरोपितसँग मेलमिलाप गरेकी थिइन् । जसको न्यायका लागि भट्टराई दम्पतिले पहल गरे उनीहरुले नै बलात्कारीसँग मिलेर हत्या गरे । हत्या घटनामा संलग्नमध्ये रामचलितर र धिरेन्द्र हाल कारागारमा छन् भने दुलारीको पनि हत्या भएको रहस्य सार्वजनिक भएको छ । हत्या घटनामा संलग्न बाँकी अपराधीहरुले उनको हत्या गरी माटोमा गाडेको प्रहरीले जनाएको छ । यिनी संलग्न रहेको अपराधीहरुको समूहले जण्डौललगायत त्रिकोल, टिकुलिया र सुनसरीको इनरुवामा हत्या घटना गरेको आशंका गरिएको छ ।
यसैगरी २०७० सालको पौषमा हराएका जण्डौल गाविसका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी ४५ वर्षीया श्रमिति जैतुन खातुन र १७ वर्षीया छोरी सेरुन खातुन मियाँको हत्यामा यही अपराधी समूहको संलग्नता रहेको बताइएको छ । गत फागुन २ गते सुनसरीको इनरुवा–७ स्थित सकिल अन्सारी डेरामा बसेको सियाराम यादवको घरबाट प्रहरीले मियाँ परिवारका तीनजना सदस्यको कंकाल उत्खनन गरी फेला पारेको थियो । इद्रिसका छोरी–ज्वाई सप्तरी वकधुवाका सकिल अन्सारीले ससुरासँग भएको पाँच कट्ठा जग्गा हडप्न सासु जैतुन, ससुरा इद्रिस र श्रीमती सेरुनको हत्या गरी शव गाडेको अनुसन्धानमा खुल्न आएको छ ।
त्रिकोल गाविस–५ की संविधानसभाको पछिल्लो निर्वाचनमा जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार एवं टाइगर्सका जिल्ला सदस्य ३९ वर्षीया निर्मला साहको ०७० चैत १ गते राति भएको हत्यामा समेत यही समूहको संलग्नता रहेको छ । निर्मलाका पति जयनारायण साहको समेत ०६७ जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएको थियो । प्रहरीका लागि चुनौति बनेको निर्मला हत्याकाण्डको अनुसन्धानका सिलसिलामा थुप्रै हत्या घटनाको कडी एउटै रहेको प्रहरीले पत्ता लगाएको छ ।
गत ०६९ असोज १० गतेदेखि हराइरहेका टिकुलियाका सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको समेत यही समूहले हत्या गरी माटोमा गाडेको आशंका गरिएको छ । अनुसन्धानका लागि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।